सामाजिक क्षेत्रबाट संसदको यात्रामा बिना गुरुङ

पोखरा (कास्की) । सामाजिक क्षेत्र, महिला सशक्तीकरण र शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय बिना गुरुङले पहिलोपटक सङ्घीय संसद्मा प्रवेश गरेकी छिन् । उनी प्रतिनिधिसभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र नं ३ मा प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले जित हासिल गर्न सफल भइन् ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गुरुङ ३७ हजार ७५० मतसहित विजयी भएकी छिन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत पाए । नेकपा (एमाले) का दामोदर बैरागीले सात हजार ९०६ मत पाए । बैरागी यसअघि यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हुन् ।

सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालको संस्थापक अध्यक्षसमेत रहेकी गुरुङ महिला दिदीबहिनीहरूको प्रेरणा स्रोत बन्दै आएकी छिन् । महिला उद्यमशीलता प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा समुदायमा सामाजिक अभियान सञ्चालनमा सक्रिय रहँदै राजनीतिक यात्रामा जोडिएकी थिइन् ।

श्रीमान्, एक छोरा एक छोरीका साथ पोखरा–५ मा बस्दै आएकी गुरुङ २०७२ सालको भूकम्प र कोभिड–१९ महामारीका बेला विभिन्न क्षेत्रमा राहत तथा स्वास्थ्य सामग्री वितरणमा सक्रिय रहेकी थिइन्। विजयपछि कास्की–३ को समग्र विकास, सुशासन र जनताको अपेक्षाअनुसार काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन् । पर्यटन प्रवर्द्धन, महिला उद्यमशीलता, सहकारीपीडितको समस्या समाधान तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने सांसद गुरुङले बताइन् ।

उनले भनिन्, “म सामाजिक क्षेत्र र उद्यमशीलताको यात्राबाट राजनीतिमा आएकी छु, अब राजनीतिको यो नयाँ यात्रालाई पनि आफ्नो इमान्दारिता जनभावनाअनुरुप काम गर्नेछु ।”

सांसद गुरुङले जेनजी आन्दोलनको मर्मसहित जनताको यो विश्वास र जनमतलाई नतिजामा उतार्नका लागि नीतिगत तहमा आफ्नो भूमिका सशक्त गराउँदै लैजाने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *