एजेन्सी । क्याटलान क्लब बार्सिलोना कोपा डेल रेबाट बाहिरिएको छ । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा एट्लेटिको म्याड्रिडमाथि ३-० गोलको जित निकालेपनि समाग्रमा ४-३ गोलले पराजित हुँदै बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो लेगमा एट्लेटिको म्याड्रिडले बार्सिलोनामाथि ३-० गोलको फराकिलो जित निकालेको थियो ।
स्पोटिफाइ क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन मार्क बेर्नालले दुई गोल गर्दा राफिन्हाले एक गोल थपेका हुन् । २९ औँ मिनेटमा बेर्नालले गोल गर्दै बार्सिलोनालाई शुरूवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई २-० गोलको अग्रता दिलाएका थिए । ७२ औँ मिनेटमा बेर्नालले गोल गर्दै बार्सिलोनालाई रोमाञ्चक पुनरागमनतर्फ अग्रसर गराएका थिए । तर बाँकी समयमा थप गोल गर्न नसक्दा बार्सिलोनाले खेलमा ३-० गोलको जित निकालेपनि समाग्रमा ४-३ गोलले पराजित भएको हो ।
हारसँगै बार्सिलोना प्रतियोगिताबाट बाहिरिँदा एथ्लेटिको म्याड्रिड फाइनलमा पुगेको छ । अब एट्लेटिकोले फाइनलमा एथ्लेटिक बिल्बाओ र रियल सोसिडाडबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।
