काठमाडौं । सशस्त्र प्रहरीका पुर्व डिआईजी रञ्जन कोइरालाको सजाय कम गर्ने सर्वोच्च अदालतको फैसला विवादमा परेसँगै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु आएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले उक्त फैसलाप्रति असन्तोष व्यक्त गर्दै न्यायलयको अविश्वासले राज्य डगमगाउने बताएका छन् । उनले ट्वीटरमार्फत न्यायालय प्रतिको आम नागरिकको विश्वास डगमगाउन थालेपछि राज्य संकटमा पर्ने बताएका छन् । उनले भनेका छन्, “जब न्यायालय प्रतिको आम नागरिकको विश्वास डगमगाउन थाल्छ तब राज्य संकटमा पर्छ ।”
श्रीमतीको ज्यान लिएर काठमाडौंबाट मकवानपुरको जंगलमा लगेर शव जलाएको आरोपमा पुर्व डिआईजी कोइरालाले जन्मकैद भोगिरहेका थिए । जिल्ला अदालत र तत्कालीन पुनरावेदनको जन्मकैदको फैसला उपर पुनरावेदन गरेका कोइरालाको रिटमा सर्वोच्च अदालतले जन्मकैद ८ वर्ष ६ महिनामा घटाइदिएपछि उनी जेलमुक्त भएका छन् । अहिले जनस्तरबाट पनि यस फैसलाको व्यापक आलोचना र प्रदर्शन सुरु भएका छन् ।
