बाधा चिर्दै एसियन कपमा बङ्गलादेश

ढाका । सामाजिक कलङ्क, गरिबी, धार्मिक कट्टरता र पारिवारिक दबाबका वर्षौंको अवरोध पार गर्दै बङ्गलादेशको राष्ट्रिय महिला फुटबल टोली पहिलो पटक महिला एसियन कपमा स्थान बनाउन सफल भएको छ । अस्ट्रेलियामा मार्च ३ देखि सुरु हुने प्रतियोगितामा डेब्यू गर्न लागेको टोलीका लागि यो केवल खेल उपलब्धि मात्र नभई लैङ्गिक विभेदविरुद्धको ऐतिहासिक जीत पनि बनेको छ ।

करिब १७ करोड जनसङ्ख्या भएको यस दक्षिण एसियाली राष्ट्रमा महिला खेलाडी बन्नु सजिलो छैन । विशेषगरी ग्रामीण क्षेत्रमा केटीहरूलाई खेलकुदबाट टाढा राख्ने सामाजिक दबाब गहिरो छ । सर्ट लगाएर फुटबल खेल्नु अभद्र ठान्ने धारणा अझै जीवित छ । कप्तान अफिदा खान्डाकरले समुदायबाट पर्याप्त साथ पाएको भए अझ धेरै केटीहरू टोलीमा जोडिन सक्ने बताए । उनका अनुसार धेरैले प्राथमिक तहपछि नै फुटबल छोड्नुपरेको छ, कतिपयलाई सानै उमेरमा विवाहका लागि दबाब दिइएको छ ।

बीस वर्षीया खेलाडी एन्निमा खानम रिचीले आफ्ना धेरै साथीहरूलाई खेलबाट हटाएर व्यवस्थित विवाह गराइएको स्मरण गरे । परिवारहरूले सामाजिक दबाब सहन नसक्दा छोरीहरूलाई मैदानबाट टाढा राख्ने गरेको उनको भनाइ छ । कप्तान खान्डाकरले पनि आफ्ना आमाबाबुले—विशेषगरी आमाले—कटु टिप्पणी सहेर आफूलाई अघि बढाउन साथ दिएको उल्लेख गरे । उनले पाँच वर्षको उमेरदेखि फुटबल खेल्दै आएको हो ।

सन् २०११ मा पहिलो महिला लिग सुरु भएको बङ्गलादेशमा दुई वर्षयताको राजनीतिक उथलपुथलले थप चुनौती थपेको थियो । सन् २०२४ को विद्रोहपछि सक्रिय इस्लामवादी समूहहरूले महिलामाथि ‘अपर्याप्त विनय’ को आरोप लगाउँदै दबाब बढाएका थिए । हिंसाको धम्कीका कारण गत वर्ष केही खेल रद्दसमेत भएका थिए ।

हालै सम्पन्न आम निर्वाचनमा विजयी बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले महिला अधिकारको समर्थन गर्ने वाचा गरेको छ, तर इस्लामवादी दलहरूको बढ्दो प्रभावले लैङ्गिक नीतिबारे चिन्ता कायमै छ ।

बङ्गलादेश फुटबल महासङ्घका प्रशिक्षक सैफुल बारी टिटुले महिला टोलीले धेरै विरोध झेलेर यहाँसम्म पुगेको बताए । उनका अनुसार पछिल्ला वर्षमा आधारभूत संरचना विस्तार भएको छ र देशभर ४० भन्दा बढी क्लबले नौ वर्षदेखि केटीहरूलाई प्रशिक्षण दिन थालेका छन् ।

सन् २००८ अघि राष्ट्रिय महिला टोली नै नभएको स्मरण गर्दै महिला शाखा प्रमुख महफुजा अख्तर किरोनले खेलाडीहरूको जीविकोपार्जन सुनिश्चित गर्नु प्राथमिकता रहेको बताए । पुरुष खेलाडीको तुलनामा पारिश्रमिक कम भए पनि उक्त आम्दानीले धेरै परिवारलाई स्थायित्व दिएको उनको भनाइ छ ।

अधिकांश खेलाडी सीमान्तकृत परिवारबाट आउने गरेका छन् । कप्तानका बुबा खन्डाकर आरिफ हुसेन प्रिन्सका अनुसार धेरै अभिभावक रिक्शाचालक, मजदुर वा साना व्यवसायी भएकाले आर्थिक अभावका कारण छोरीहरूले खेल छोड्ने अवस्था आउँछ । प्रायोजकहरूको चासो बढ्दै जाँदा समाजको मनोवृत्ति विस्तारै परिवर्तन भइरहेको खेल अधिकारीहरूको विश्वास छ ।

अब बङ्गलादेशले आफ्नो पहिलो खेल नौ पटकको एसियाली च्याम्पियन चीनसँग खेल्दै अभियान सुरु गर्दैछ । चीन र उत्तर कोरिया जस्ता शक्तिशाली टोलीहरूसँग प्रतिस्पर्धा कठिन हुने कप्तान खान्डाकरको स्वीकारोक्ति छ, तर टोलीले उत्कृष्ट प्रदर्शन गर्ने दृढता व्यक्त गरे । एसियन कपको मैदानमा उत्रँदा बङ्गलादेशी खेलाडीहरूका लागि यो केवल खेल प्रतियोगिता नभई समानताको सङ्घर्षको निरन्तरता हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *