यामालको ह्याट्रिकमा बार्सिलोना विजयी

एजेन्सी । लामिने यामालले ह्याट्रिक पूरा गरेपछि बार्सिलोनाले स्पेनिस लिग ला लिगामा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा भिल्लारियललाई ४-१ गोलले पराजित गर्दै बार्सिलोनाले शीर्ष स्थानमा चार अंकको अग्रता लिएको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन यामालले ह्याट्रिक पूरा गर्दा रोबर्ट लेवान्डोस्कीले एक गोल थपे । भिल्लारियलको लागि पापे गुएले एक गोल फर्काए । खेलको २८ औँ मिनेटमा फेर्मिन लोपेजको पासमा यामालले गोल गर्दै बार्सिलोनालाई शुरूवाती अग्रता दिलाएका थिए । ३७ औँ मिनेटमा लोपेजकै पासमा यामालले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए ।

४९ औँ मिनेटमा सान्टियागो मौरिनोको पासमा पापे गुएले गोल गर्दै भिल्लारियललाई २-१ गोलको स्थितिमा ल्याएका थिए । ६९ औँ मिनेटमा पेड्रीको पासमा यामालले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्दै बार्सिलोनालाई सहज जिततर्फ अगाडि बढाएका थिए । यस्तै इन्जुरी समयको पहिलो मिनेटमा जुलेस कौन्डेको पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई ४-१ गोलको जित दिलाएका हुन् ।

जितसँगै बार्सिलोना २६ खेलबाट ६४ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ५१ अंक जोडेको भिल्लारियल चौथो स्थानमा रहेको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *