तनहूँ । गत आइतबारदेखि परेको अविरल वर्षात्का कारण विद्युतको पोल ढलेपछि यहाँका दुई पालिकाका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका र भानु नगरपालिकामा गरी ७०० घरधुरी ६ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका हुन् । दुई पालिकामा पहिरोले करिब २१ वटा विद्युतका पोल ढालेपछि विद्युत् अवरुद्ध हुँदा बन्दीपुर गाउँपालिकमा ५०० र भानुनगरपालिका–१ का २०० घरधुरी अन्धकारमा बस्नुपरेको हो । साजबोटे, कल्याणटार र नयाँबस्तीमा अस्थायीरुपमा विद्युत् सञ्चालनको लागि गाह्रो भएको तनहुँ वितरण केन्द्र डुम्रे शाखाका इञ्चार्ज बेनी नेपालीले जानकारी दिए ।
हाइटेन्सन लाइनका नौ र साना १२ वटा पोल ढलेपछि विद्युत् अवरुद्ध भएको हो । उनले भने, “सात जनाको प्राविधिक टोली विद्युत् मर्मत कार्यमा खटिएका छौँ ।” विद्युत् अवरुद्ध भएका अधिकांश स्थानमा अस्थायीरुपमा विद्युत् सञ्चालन गरिएको छ । उनले भने, “बन्दीपुर–१ नाहालास्थित पृथ्वीराजमार्गमा पहिरो गएका कारणले सामग्री समयमा ढुवानीमा समस्या भएको छ ।”
बिहीबार साँझसम्म अवरुद्ध भएका केही क्षेत्रमा विद्युत् पुनःसञ्चालन गरिए पनि अझै मर्मत गर्नुपर्ने काम बाँकी रहेकाले कर्मचारी खटिइरहेको उनले बताए । त्यसैगरी असार ३१ गते परेको अविरल वर्षाले जिल्लाको म्याग्दे गाउँपालिका, ऋषिङगाउँपालिका र व्यासनगरपालिका ४०० घरधुरी अन्धकारमा बस्न बाध्य भएका थिए ।
म्याग्दे गाउँपालिका, ऋषिङगाउँपालिका र व्यासनगरपालिका क्षेत्रका करिब ७५ वटाभन्दा बढी विद्युत्का पोल ढाल्ने र बगाउने गरेपछि ती घरपरिवार अन्धकारमा बस्नुपरेको थर्पु नोलाइटका इञ्चार्ज दीपक वाग्लेले जानकारी दिए । बाढी पहिरोका कारण तनहुँको विद्युत् क्षेत्रमा करिब रु डेढ करोड बराबरको क्षति भएको विद्युत् प्राधिकरण कार्यालय तनहुँले जनाएको छ ।