चुनाव निष्पक्ष र धाँधलीरहित बनाउन सरकार गम्भीर हुनुपर्छः अध्यक्ष ओली

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन् ।

शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी’कार्यक्रममा अध्यक्ष ओलीले देशमा आइपरेको संकटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको बताएका हुन् ।

उनले मुलुकको सार्वभौम संसदलाई ध्वंसको माध्यमबाट बललफ्ती विघटन गरिएपछि देश संकटतर्फ धकेलिएको बताए ।

एमाले चुनावबाट नभाग्ने भएकाले देशैभरि पार्टी चुनावमा केन्द्रित भएको उल्लेख गर्दै अध्यक्ष ओलीले आगामी चुनावबाट एमाले नै पहिलो शक्ति बन्ने र देशमा आइपरेका समस्याहरूको समाधान निकाल्ने बताए ।

अध्यक्ष ओलीले चुनावमा हुने कुनैपनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने समेत बताए । चुनावलाई निष्पक्ष, धाँधलीरहित बनाउन सरकार गम्भीर नदेखिएको समेत उनले बताए ।

अध्यक्ष ओलीले युवाहरूलाई विभिन्न माध्यमबाट छरिने भ्रममा नपर्न र त्यस्ता भ्रमहरू चिर्ने काममा लाग्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *