एजेन्सी । दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकपको सेमिफाइनल नजिक पुगेको छ । बिहीबार बेलुकी सम्पन्न खेलमा वेस्ट इन्डिजलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिकाले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको हो ।
जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.१ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । दक्षिण अफ्रिकाको लागि कप्तान एडिन मार्क्रमले अर्धसतक बनाए । उनले ४६ बलमा ७ चौका र ४ छक्काको मद्दतमा ८२ रन बनाए । यस्तै क्विन्टिन डी ककले ४७ र रायन रेकिल्टनले ४५ रन बनाए । वेस्ट इन्डिजका रोस्टन चेसले एक विकेट लिए ।
यसअघि अहमेदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । वेस्ट इन्डिजको लागि रोमारियो शेफर्डले अर्धसतक बनाए । उनले ३७ बलमा ४ छक्का र ३ चौकाको मद्दतमा नटआउट ५२ रन बनाउँदा जेसन होल्डरले ४९, ब्राण्डन किङले २१, शाइ होपले १६ र शेर्फाने रुथरफोर्डले १२ रन बनाए ।
दक्षिण अफ्रिकाको लागि लुन्गी एनगिदीले तीन विकेट लिँदा कागीसो रबडा र कोर्बिं बोस्चले दुई/दुई विकेट लिए ।
जितसँगै दक्षिण अफ्रिका दुई खेलबाट ४ अंक जोड्दै सुपर आठको समूह एकको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट दुई अंक जोडेको वेस्ट इन्डिज दोस्रो स्थानमा रहेको छ ।
