बीबीसी । टिकटक एप बनाउने चिनियाँ कम्पनीले विकास गरेको नयाँ आर्टिफिशल इन्टलिजन्स (एआई) मोडेलले यो साता हलिउडमा हलचल ल्याइदिएको छ । उक्त एआई मोडेलले के गर्न सक्छ भन्ने मात्र नभइ त्यसले यस सिर्जनशील उद्योगमा के प्रभाव पार्छ भन्ने प्रश्नले पनि मानिसहरू चिन्तित भएका छन् ।
प्रविधिको विशाल कम्पनी बाइटडान्सले बनाएको सीडान्स २.० ले केही लिखित निर्देशन दिने बित्तिकै ध्वनि तथा संवादसहित सिनेमाको गुणस्तर समान भिडिओ बनाइदिन सक्छ । सीडान्सको प्रयोग गरेर स्पाइडर म्यान र डेडपुल जस्ता चर्चित पात्रहरूमा आधारित भएर बनाइएका कैयन् भिडिओ क्लिपहरू भाइरल भएका थिए । डिज्नी र प्यारामाउन्टजस्ता अग्रणी स्टुडियोहरूले तत्कालै बाइटडान्सविरुद्ध प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोप लगाए। तर त्रास ती कानुनी विषयभन्दा पनि धेरै गहिरो गरी गडिएको बताइन्छ ।
सन् २०२५ को जुनमा कमै चर्चाका माझ सीडान्सको सुरुवात गरिएको थियो। तर त्यसको ८ महिनापछि आएको यसको दोस्रो संस्करणले धेरै हल्लीखल्ली निम्त्याएको छ । ‘ओहो यो भिडिओ एआईले गजब बनाएछ भन्ने सोच यसपटक मेरो मनमा आएन। बरु यो भिडिओ त वास्तविक फिल्म निर्माण कम्पनीबाट सोझै आएको भन्ने सोचेँ,’ भिडिओस्टेट नामक स्टुडियोका यान–विलेम ब्लोमले भने।
पश्चिमा देशका एआई भिडिओ मोडेलहरूले पनि प्रयोगकर्ताहरूले दिने निर्देशनअनुरूप गजबका भिडिओ बनाउने कुरामा प्रगति गरेका तर सीडान्सले चाहिँ सबै कुरालाई समायोजन गर्न सकेको उनले बताए।
मिडजर्नी र ओपनएआईको सोरा जस्ता एआई टुल जस्तै सीडान्सले छोटा लिखित निर्देशनका आधारमा भिडिओ बनाइदिन्छ। कतिपय उच्च गुणस्तरका भिडिओ बनाउन एउटै निर्देशन पनि काफी भएको देखिन्छ।
यसले एकै प्रणालीमा लिखित (टेक्स्ट), अनि श्रव्य तथा दृश्यलाई समायोजन गर्ने कुरा सबभन्दा प्रभावकारी देखिएको एआई इथिक्स शोधकर्ता मार्गरेट मिचेलले बताइन्।
सीडान्सको भिडिओको गुणस्तर कति सजीव छ भनेर नाप्न एउटा अनौठो उदाहरणको सहारा लिइएको छ। हलिवुड अभिनेता विल स्मिथले स्पागेटी खाएको भिडिओ कत्तिको यथार्थपरक देखिन्छ भनेर।
ती अभिनेताले प्लेटबाट पास्ता खाएको गजबकै सजीव भिडिओ सीडान्सले बनायो। त्यतिमात्र होइन उक्त भिडिओपश्चात् कैयन् भाइरल भिडिओहरू बनेका छन् जसमा स्मिथले विशाल स्पागेटी मन्सटरसँग लडेका देखिन्छन् – र ती भिडिओ क्लिप कुनै धेरै बजेटवाला हलिवुड फिल्मको जस्तो लाग्छ।
भिडिओ निर्माण प्रविधिमा सीडान्स नयाँ अध्यायका रूपमा आएको कैयन् सिने उद्योगका विज्ञ एवं फिल्मनिर्माताहरूको विश्वास छ। सीडान्सले उसका प्रतिस्पर्धीहरूले भन्दा निकै धेरै वास्तविक देखिने जटिल एक्सन भिडिओहरू बनाएको सिङ्गापुर स्थित टाइनी आइल्यान्ड प्रोडक्सन्स नामक एनिमेशन स्टुडियोका डेभिड क्वकले भने।
बौद्धिक सम्पत्तिको अधिकारका विषयमा सीडान्स समस्यामा परेको छ। एआईको युगमा यो बढ्दो चुनौती हो । एआई कम्पनीहरूले मानिसहरूभन्दा प्रविधिलाई प्राथमिकता दिन थालेको भन्दै विज्ञहरूले तिनले कसैलाई पैसा नतिरीकन डेटाको उपयोग गर्दै शक्तिशाली टुल बनाउने गरेको बताए।
