ल्हासा । चीनको ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र प्रोपाइटर ल्होसोङले ल्हासामा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन गरेका छन् ।
मंगलबार कुजिलिन स्क्वायर, विन्हे पार्क, ल्हासामा नेपाली रेष्टुरेन्ट उद्घाटन गरिएको हो । रेष्टुरेन्ट चिनियाँ नागरिक ल्होसोङ निगाले संचालन गरेका हुन् । यसको व्यवस्थापन ल्हासा नेपाल क्याटरिङ म्यानेजमेन्ट कम्पनीले गर्नेछ ।
उद्घाटन कार्यक्रममा महावाणिज्यदूत निरौलाले नेपाल चीन खासगरी तिब्बतसँग युगौंदेखिको सम्बन्ध रहेको र सरकारी स्तरमा मात्र नभएर जनस्तरको सम्बन्ध रहेको उल्लेख गरे ।
उनले नेपाली व्यवसायीहरूले धेरै अगाडिदेखि तिब्बतका विभिन्न स्थानमा व्यापार व्यवसाय गरेका र ल्होसोङललगायत चिनियाँ व्यवसायीहरू पनि नेपालमा व्यवसाय गरी आएकाले यसले दुई देश बीचको सबन्धमा योगदान पुग्ने बताए ।
यी दुई भूमिमा बसोबास गर्ने नागरिकहरूका खानपिन, रीतिरिवाज, परम्परा र संस्कृतिमा पनि केही हदसम्म समानता रहेको उल्लेख गर्दै उनले ल्हासा नेपाल क्याटरिङ म्यानेजमेन्ट कम्पनीद्वारा सञ्चालित यो नेपाली रेष्टुरेन्ट पनि राम्ररी चल्ने विश्वास रहेको बताए ।
उद्घाटन गरिदिएकामा महावाणिज्यदूत निरौलालाई तथा उपस्थितिका लागि महावाणिज्यदूतावास परिवार एवम् स्थानीय नागरिकहरूलाई धन्यवाद दिंदै प्रोपाइटर ल्होसोङले नेपाल चीन सम्बन्ध अझ बलियो बनाउन उपयोगी हुने बताए । उनले यस प्रकारका कार्यमा आफू सदैव लागिपर्ने र रेष्टुरेन्टले नेपाली स्वाद पस्कने बताए ।
प्रोपाइटर ल्होसोङले तारा रग्स उद्योगका नाममा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ को तीनचुलीमा गलैंचा उद्योग सञ्चालन गरी तीसौं वर्षदेखि नेपालमा पनि व्यवसाय गरिरहेका छन् । नेपाली परम्परागत शैलीमा रेष्टुरेन्टको सजावट गरिएको छ ।
कार्यक्रममा उपस्थित पाहुनाहरूलाई थकाली थाली सेट खानाले स्वागत गरिएको थियो । कार्यक्रममा नेपाली र चिनियाँ कलाकारहरूले नेपाली तथा तिब्बती गीत तथा नृत्य प्रस्तुत गरेका थिए । रेष्टुरेन्टमा नेपाली कामदारहरू रहेका छन् ।



