रेनुलाई राजनीतिको केन्द्रीय पात्र बनाउन सहयोगी बन्दै चुनावी माहोल

-नारायण पौडेल ।

रेनु यो चुनाव नलडुन् भन्ने चाहन्थे प्रचण्ड । स्रोतका अनुसार रेनुले महानगरबाट राजीनामा दिने बताएपछि प्रचण्डले भनेका थिए– तिमी आमरुपमा स्थापित छौ । यस्तो गिजोलिएको बेला चुनाव नलड । त्यसपछि रेणुले जे भनिन्, प्रचण्डले नाई भन्न सकेनन् ।

आफू जित्नलाई न्वारनदेखिको बल लगाउनुपर्ने बाध्यतामा नरहेका भनिएका प्रचण्ड ‘रिल्याक्समा’ छन् । मगरमः शरणमः गच्छामीको युद्धकालीन नीति सम्भवतः चुनावमा पनि सहयोगी बन्नेछ । तत्कालीन माओवादी केन्द्रले ०७९ सालको निर्वाचनमा पाएको ‘जादू’ नम्बर भन्दा बढी सिट पाउने आंकलन छ यसपालि नेकपाको । समाजवादीलगायका घटकसँगको एकता एकातिर छ । अर्कोतिर देशव्यापी चुनाव लडेको, जेनजी आन्दोलनताका प्रतिपक्षमा रहेको, कांग्रेस–एमालेको अलोकप्रिय गठबन्धन प्रचण्ड नेतृत्वको सरकार विस्थापित गर्न बनेको तथा रविका तत्कालीन सरकारी कमाण्डर प्रचण्ड रहेको सन्दर्भमा नेकपा जनआक्रोशको खास निशानामा छैन ।

प्रचण्ड आफूलाई भावी प्रधानमन्त्री घोषणा गरेरै चुनावमा जान सक्थे । त्यो पनि गरेनन् । बरु नाम नतोकिएको व्यक्ति प्रधानमन्त्री हुनेछ, हेर्दै जानुहोला भनेका छन् । प्रचण्डले चुनावको इपिसेन्टर आफूलाई बनाएनन्, बनिन् रेनु । प्रचण्डले रुकुम पुगेर भरतपूर मोडलको विकास गर्ने भाषण गरे । अर्थात् प्रचण्ड रेनुलाई राजनीतिक मोडल बनाउन चाहन्छन् । हरेक बाबुको स्वभाविक चाहना हो– सन्तानलाई रोलमोडल बनाउने । रेनु पार्टी बाहिरका मान्छेका लागि पनि स्वीकार्य भैदिँदा प्रचण्डका लागि रेनु अघि सार्न सजिलो हुँदै गएको छ । नाताबादको आलोचना सहन प्रचण्ड सदा तयारै छन् ।

नेकपाका अधिकांशलाई लागेको थियो–महानगरको कार्यकाल सकिएपछि रेनु प्रदेशसभामा जानेछिन् । मौका आए मुख्यमन्त्री हुनेछिन् । प्रचण्डको शुरुवाती आशय पनि त्यही थियो । तर रेनु संघीय सांसद बन्न चाहिन् ।

रेनुको बुझाइमा विकासमुखी छबि र बुबाको शक्ति समन्वयका कारण आफ्ना लागि सबैभन्दा उपयुक्त समय यही हो, केन्द्रीय राजनीतिमा हस्तक्षेप गर्न । हुँदाखाँदाको मेयर छाड्दै गर्दा रेनुले प्रचण्डलाई भनेकी थिइन्– तपाईं शक्तिमै रहँदा र मेरो छबि राम्रो भएका बेला संसदमा नगए कहिले जाने ? २ वर्षपछि म महानगरमा तेहेरिने कुरा भएन, प्रदेशमा खुम्चिन मन छैन । यति गर्दा पनि म हारेछु भने चित्त बुझाउँला, केही छैन ।
निर्वाचित भएर आएपनि माधव नेपालले संसदको सपथ लिन पाउने छैनन्, मुद्दा किनारा नलागेसम्म । झलनाथ खनाल र वामदेव गौतम चुनावी दौडमै छैनन् । प्रचण्ड पछि पार्टीभित्र अर्को सर्वस्वीकार्य पात्र छैन । महासचिव समेत नबनाइएका वर्षमान पुन प्रचण्डको उत्तराधिकारी हुन तत्काल सम्भव देखिँदैन । जनार्दन हिंडेपछि नारायणकाजी श्रेष्ठले प्रचण्डको डेग हल्लाउन सक्ने स्थिति रहेन । सभामुख भैसकेकी ओनसरी घर्तिमगर, वरिष्ठ नेतृ पम्फा भुसालपनि मैदानमा छैनन् ।

प्रचण्डले चाहेको व्यक्ति सहजै पार्टीमा स्थापित हुनेछ । प्रचण्डपुत्री हुनुका नाताले रेनु हिंग नभएपनि हिंग बाँधेको टालो हुन्, अधिकांश कार्यकर्ताका लागि । उनको सरल स्वभाव र अरुप्रतिको सम्मानभाव सहयोगी छँदै छ । त्यसमाथि नयाँका लागि राजनीति उर्बर भएको समय छ । महानगरका मेयर बालेन प्रधानमन्त्रीको दौडमा होमिएपछि सहपदीय रेनुले गर्ने दाबी पनि पार्टीभित्र अस्वभाविक हुनेछैन । त्यसमाथि रेनुको जित र हारमा नेकपाको साख जोडिनेजस्तो गरि माहोल बन्दै गएको छ । यो माहोल रेनुलाई राजनीतिको केन्द्रीय पात्र बनाउन सहयोगी बनिरहेको छ । चुनावी चर्चाका हिसाबमा रेनुले नेकपा सबै उम्मेदवारलाई पछि पारिसकेकी छन् ।

अबको संसद हंग पाल्र्यामेण्ट हुने देखिन्छ । त्रिसंकु रहँदै आएको संसद रास्वपाको जबरजस्त उपस्थितिले चौसंकु हुँदैछ । यस्तो अवस्थामा पहिले भन्दा केही संख्या बढाउने दाबी गरिरहेको नेकपा संसदको एक सशक्त खेलाडी हुनेछ । सायद यसपटक प्रचण्ड मिड फिल्डर हुनेछन् । संसद निर्वाचित भएमा रेनुलाई मिठो पास दिनेछन् । रेनुले राजनीतिक गोल गरेमा प्रचण्डले भन्नेछन्– नययुवाको चाहना अनुसार म अब अभिभाकीय भूमिकामा रहनेछु ।

दूध कहाँ पोखियो ? आफ्नै भाँडोमा । चलाख छन् प्रचण्ड । रेनुलाई भनेकै छन्– तिमी जितेर आउ, बाँकी मेरो जिम्मा । हेर्दै जानुहोला घोषणा नगरिएको ब्यक्ति प्रधानमन्त्री हुनेछ भनिएको प्रचण्ड–रोपम्यापलाई मिलाएर यसरी बुझ्दा कसो होला –अबकी बार रेनु सरकार ! आलोपालो सरकार भएमा पहिले शक्तिशाली मन्त्री, त्यसपछि प्रधानमन्त्री !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *