अहिलेको परिस्थिति सम्हाल्न सक्ने शक्ति कांग्रेस मात्रै होः उपसभापति शर्मा

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पुरानै ढंगबाट चलेर नयाँ परिणाम दिन नसकिने भएकाले नयाँ ढंगले अगाडि बढ्ने बताएका छन् ।

बुधबार जनकपुरधाममा पार्टीको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले यो बुझेर नै कांग्रेस विशेष महाधिवेशनमार्फत बदलिएर आएको बताएका हुन् ।

उनले जनताको आवाजलाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति गगन थापाको नेतृत्वमा सरकार बन्नुपर्ने बताए ।

उनले भने, ‘जसले आफूलाई बदल्न सक्छ उसले देश बदल्न सक्छ । कांग्रेस बदलिएर आएको छ । अब देश बदल्ने छ । हो हामी पुरानो पार्टी हौं तर हामी नयाँ भएर, बदलिएर आएका छौं ।’

उनले मधेशलाई नयाँ ढंगले विकास गरेर लैजाने प्रतिज्ञा गर्न मधेश आएको बताए । उनले देश र मधेश दुवै संकटपूर्ण अवस्थाबाट गुज्रिरहेकाले यस्तो समयमा परिस्थिति सम्हाल्न सक्ने शक्तिलाई जिताउनुपर्ने बताए ।

उनले भने, ‘कसलाई जिताउने भन्ने होइन, देशलाई कसले जोगाउने भन्ने हो। कसले सम्हाल्ने भन्ने हो।’ उनले अहिलेको चुनाव सामान्य प्रतिस्पर्धाभन्दा फरक भएको बताए । उनले आफूहरु फागुन २१ गतेको चुनावलाई मात्रै सोचेर नहिँडेको बताए ।

उनले भने, ‘आजका लागि मात्रै सोच्ने होइन। हामी २०८२ सालको लागि मात्रै होइन, २०९२ सालका लागि सोचिरहेको छौँ ।’

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *