काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका वरिष्ठ नेता बालेन साहप्रति लक्षित गर्दै प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति आफूहरुले नगरेको बताएका छन् ।
मंगलबार झापा-५ मा उम्मेदवारबीच भएको ‘पब्लिक डिबेट’को प्रसंग उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । मंगलबार उम्मेदवारबीच भएको ‘पब्लिकि डिबेट’मा बालेन बाहेक झापा-५ का अन्य उम्मेदवार सहभागी भएका थिए ।
ओलीले उम्मेदवारहरुले एकैठाउँमा बसेर सार्वजनिक प्रश्नहरूको आमनेसामने जवाफ दिनु लोकतन्त्रको पारदर्शिता भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘हिजो झापा–५ का उम्मेदवारबीच पब्लिक डिबेट कार्यक्रममा सहभागी भएँ । उम्मेदवारहरुले एकैठाउँमा बसेर सार्वजनिक प्रश्नहरूको आमनेसामने जवाफ दिनु लोकतन्त्रको पारदर्शिता हो । चुनाव नागरिकले प्रतिनिधिलाई विश्वास सुम्पिने पर्व हो। उम्मेदवारहरू नागरिक भन्दा टाढा रहने, वास्तविक अनुहार छुपाउने र सुटिङ गरेर तयार गरिएका सामग्री मतदातासम्म पुर्याएर चुनाव अवधिभर झुक्याउने परिपाटीबाट नागरिक ठगिनु हुँदैन । हामीले आफूमाथि उठेका प्रश्नको उत्तर दिँदै आएका छौं । त्यसैले हामीमाथि आलोचना र विरोधहरु पनि सुनिन्छन्। कतिपय प्रश्नमा आत्मालोचना गर्ने र सुधार्ने पनि गरेका छौं। प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति हामीले गरेनौँ । पब्लिक डिबेट आयोजना गर्ने आयोजक, त्यसमा भाग लिने उम्मेदवार र सहभागी नागरिक सबैलाई धन्यवाद। म नागरिकहरुको साथमा रहनेछु।’
