शान्ति मिसनमा नेपालबाट प्रतिवर्ष १० हजार सेना पठाउने तयारी

काठमाडौँ । नेपाली सेनाले संयुक्त राष्ट्रसंघअन्तर्गतको शान्ति स्थापनार्थ मिसनमा एक वर्षमा १० हजार सैनिक पठाउन सक्ने गरी आन्तरिक तयारी गरेको छ । यसका लागि सेनाले राष्ट्रसंघसँग सम्झौता गरिसकेको छ । सेनाका अनुसार सम्झौता पूर्ण तवरले कार्यान्वयनमा आए शान्ति मिसनमा सेना खटाउने विश्वका विभिन्न मुलुकमध्ये नेपाल पहिलो नम्बरमा आउनेछ । अहिले शान्ति मिसनमा बर्सेनि पाँच हजार एक सय २९ सैनिक खटिँदै आएका छन् ।

सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले शान्ति मिसनमा एकैपटक १० हजार सुरक्षाकर्मी खटाउन सक्ने गरी नेपाली सेनाले तयारी गरिरहेको जानकारी दिए । ‘अहिले शान्ति मिसनमा वर्षेनी पाँच हजार एक सय २९ सुरक्षाकर्मी खटिएका छन् । मिसनमा योगदान गर्ने मुलुकमध्ये अहिले नेपाल चौथो स्थानमा छ । अब यो संख्या १० हजारसम्म बढाउन सक्ने गरी नेपाली सेनाले तयारी गरिरहेको छ । यसका लागि युएनसँग सम्झौतासमेत भइसकेको छ । यदि यो सम्झौता पूर्ण तवरले कार्यान्वयनमा आए शान्ति मिसनमा योगदान गर्ने मुलुकमध्ये नेपालको स्थान पहिलो नम्बरमा आउँछ,’ उनले भने ।

शान्ति स्थपनार्थ द्वन्दग्रस्त मुलुकमा सुरक्षाकर्मी पठाउने सुचिका आधामा नेपाल चौथो स्थानमा छ । पहिले स्थनमा बंगलादेश छ । दोस्रो र तेस्रोमा इथोपिया र रुवाण्डा छ । छिमेकी मुलुक भारत नेपाल भन्दा पछि पाचौं स्थानमा छ भने पाकिस्थान छैठौं स्थानमा छ । त्यस्तै छिमेकी मुलुक चीन भने नवौं स्थानमा पर्ने समाचार टेकराज थामीले नयाँ पत्रिका दैनिकमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *