नेपालकी सोना श्रेष्ठ एडीबीको दक्षिण एशिया महानिर्देशक नियुक्त

मनिला । एशियाली विकास बैंक (एडीबी) ले नेपालकी सोना श्रेष्ठलाई आफ्नो दक्षिण एशिया विभागको महानिर्देशकका रूपमा नियुक्त गरेको छ। यस पदमा रहँदा उनले बंगलादेश, भूटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलङ्कामा एडीबीका रणनीति तथा कार्यक्रमहरूको विकास र कार्यान्वयनको नेतृत्व गर्नेछिन् ।

नियुक्तिपछि प्रतिक्रिया दिँदै श्रेष्ठले समावेशी तथा दिगो विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले दक्षिण एशियाली विकासशील सदस्य राष्ट्रहरूसँग एडीबीको सहकार्य अझ सुदृढ बनाउँदै लैजाने बताएकी छन् ।

२७ वर्षभन्दा बढी व्यावसायिक अनुभव भएकी श्रेष्ठले एडीबीमा २३ वर्ष सेवा गरिसकेकी छन् । यसअघि उनी दक्षिण एशिया विभागकी उप–महानिर्देशक थिइन् ।

साथै, उनले एडीबीको स्वतन्त्र मूल्यांकन विभागकी उप–महानिर्देशक, सह–सचिव, दक्षिणपूर्वी एशियाका लागि वित्तीय क्षेत्र तथा व्यापार विभागकी निर्देशक तथा इन्डोनेसियाकी उप–देश निर्देशकको जिम्मेवारी समेत सम्हालिसकेकी छन् । उनले मध्य तथा पश्चिम एशिया, दक्षिण एशिया र दक्षिणपूर्वी एशियामा व्यापक कार्यानुभव आर्जन गरेकी छन् ।

श्रेष्ठले संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि र स्नातकोत्तर उपाधि हासिल गरेकी छन् ।

एडीबी एशिया तथा प्रशान्त क्षेत्रमा समावेशी, लचिलो र दिगो वृद्धिलाई सहयोग गर्ने अग्रणी बहुपक्षीय विकास बैंक हो। सन् १९६६ मा स्थापना भएको एडीबीका ६९ सदस्य राष्ट्र छन्, जसमध्ये ५० यस क्षेत्रका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *