एयर चाइनाले २०२६ को यात्रा अवधिमा ७० हजारभन्दा बढी उडान सञ्चालन गर्ने

बेइजिङ । चीनको प्रमुख राष्ट्रिय वायुसेवा कम्पनी एयर चाइनाले सन् २०२६ को यात्रा अवधिमा ७० हजारभन्दा बढी उडान सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो सङ्ख्या सन् २०२५ को सोही अवधिको तुलनामा १०.१ प्रतिशतले वृद्धि भएको हो, जसले घरेलु तथा अन्तर्राष्ट्रिय हवाई यात्राको बढ्दो मागलाई प्रतिबिम्बित गर्दछ ।

एयर चाइनाले चीनका प्रमुख आर्थिक तथा जनघनत्वयुक्त क्षेत्रहरूबीच उडान सेवा थप सुदृढ गर्ने जनाएको छ । बेइजिङ–तियान्जिन–हेबेई क्षेत्र, याङ्त्से नदी डेल्टा, ग्वाङडोङ–हङकङ–मकाउ ग्रेटर बे एरिया तथा छेन्दु–छोङछिङ क्षेत्रजस्ता सहर समूहहरूलाई केन्द्रमा राख्दै उच्च आवृत्तिका उडान सञ्चालन गरिनेछ । यसले व्यापार, पर्यटन तथा पारिवारिक यात्रालाई सहज बनाउने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार उत्तरपूर्वी चीनतर्फका उडानमा यात्रु क्षमता गत वर्षको यात्रा अवधिको तुलनामा १५ प्रतिशतले वृद्धि गरिनेछ । चिसो मौसम र लोकप्रिय पर्यटकीय गन्तव्यका कारण सो क्षेत्रतर्फको यात्रु चापलाई व्यवस्थापन गर्न अतिरिक्त सिट क्षमता थपिएको हो । त्यस्तै, सान्या जस्ता अत्यधिक माग भएका पर्यटकीय गन्तव्यतर्फका सबै उडानहरू वाइड–बडी (ठूला) विमानमार्फत सञ्चालन गरिने एयर चाइनाले जनाएको छ, जसले यात्रु सुविधा र वहन क्षमतामा उल्लेखनीय सुधार ल्याउनेछ ।

यात्राको चरम अवधिमा एयर चाइनाले चीनमै विकसित नौ वटा ऋ९१९ विमानलाई समेत व्यावसायिक उडानमा प्रयोग गर्ने योजना बनाएको छ । यी विमानहरू बेइजिङबाट हाङझोउ, छेन्दु, उहान र सियानजस्ता प्रमुख सहरहरूतर्फ सञ्चालन गरिनेछन्। स्वदेशी विमानको प्रयोगले चीनको नागरिक उड्डयन उद्योगको प्राविधिक क्षमता र आत्मनिर्भरताको स्तरलाई थप सुदृढ गर्ने विश्वास गरिएको छ ।

अन्तर्राष्ट्रिय उडान सञ्जाल विस्तारतर्फ पनि एयर चाइनाले विशेष ध्यान दिएको जनाएको छ । सीमापार यात्राको बढ्दो मागलाई सम्बोधन गर्न सिड्नी, अकल्याण्ड, सिंगापुर, सिउल र बैंककजस्ता प्रमुख अन्तर्राष्ट्रिय गन्तव्यतर्फ थप उडान थपिनेछ । यस कदमले अन्तर्राष्ट्रिय पर्यटन, व्यापारिक सम्पर्क तथा सांस्कृतिक आदानप्रदानलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

एयर चाइनाले पर्याप्त उडान संख्या, सिट क्षमता विस्तार तथा सेवा गुणस्तर सुधारमार्फत यात्रुहरूलाई सुरक्षित, सहज र प्रभावकारी यात्रा अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *