नेपाली गोलभेडा सडकमा, भान्सामा भने भारतको

काठमाडौँ । पश्चिम नवलपरासीको वर्दघाटका वैदेशिक रोजगारीबाट फर्किएका रामचन्द्र नेपालले स्वदेशमै तरकारी खेती गर्ने सोच बनाएका थिए । सोही अनुसार उनले अन्नपूर्ण कृषि उत्पादन फर्म दर्ता गरे । स्वदेशमै केही गर्ने हेतुले कृषि सुरू गरेका उनी यो पेशाबाट खुशी भने छैनन् । ‘सरकारले कृषि क्रान्ति गर्ने भनेर स्थानीय तहले खेती गर्न भन्यो, त्यही अनुसार खेती गरिरहेका पनि छौँ,’ उनले भने, ‘तर त्यसको मूल्य मापन भएन । उत्पादन बजारसम्म पुर्याउनै गाह्रो भयो ।’

भारतीय तरकारीले नेपाली बजार कब्जा गरेपछि थप समस्या भएको किसानहरूको भनाइ छ । त्यसको विरोधमा वर्दघाटका किसानले फागुन ४ मा वर्दघाट नगरपालिका परिसरमै गोलभेडासमेत फालेका थिए ।

‘विदेशबाट फर्केपछि करिब १८ वर्षदेखि कृषि मै संलग्न छु तर हरेक वर्ष मुल्य कै समस्य छ । आयातित तरकारी सस्तो हुँदा नेपाली किसानलार्इ मार पर्यो,’ उनले भने, ‘तरकारी बेच्ने यही स्थानीय तहमै हो तर बजारबाटै विस्तापित छौँ ।’ विक्री नभएपछि करिब ६ बिगा बारीमा गोलभेडा थुप्रिएको उनले गुनासो गरे ।

स्थानीय हाट बजारमा गोलभेडा प्रतिकिलो १० रूपियाँमा पाइन्छ, कृषकहरूले थप सस्तोमा बेच्न बाध्य छन् । काठमाडौँमा त्यही गोलभेडा ५० रूपियाँसम्म बिक्री भइरहेको छ । भारतबाट आयातित गोलभेडा भने काठमाडौँमा ४० रूपियाँभन्दा सस्ताेमा पाइन्छ ।

काठमाडौँमा नेपालीभन्दा भारतीय गोलभेडा सस्तो हुँदा स्थानीयले बजार नपाएको कृषकहरूले गुनासो गरेको समाचार कान्तिपुर दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *