प्रधानमन्त्री मोदी र अरब लिगका कुटनीतिज्ञबीच भेटवार्ता

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीमा अरब लिगका विदेशमन्त्री र प्रतिनिधिमण्डलहरूलाई स्वागत गरेका छन् । दुई मुलुकबीचका कुटनीतिज्ञ र प्रतिनिधिमण्डलबीचको भेटमा व्यापार, प्रविधि र ऊर्जा जस्ता क्षेत्रहरूमा सहयोग बढाउने साझेदारीलाई नयाँ उचाइमा पुर्याउने उनले बताए ।
सामाजिक सञ्जाल एक्समा गरेको उक पोस्टमा उनले अरब संसारलाई भारतको विस्तारित छिमेकको एक हिस्साको संज्ञा दिँदै यो स्थायी भ्रातृत्व सम्बन्ध र शान्ति र स्थिरताको प्रतिबद्धताले जोडिएको बताए ।

उनले लेखेका छन्, “आज अरब लिगका विदेशमन्त्री र प्रतिनिधिमण्डलहरूलाई स्वागत गर्न पाउँदा खुसी छु। अरब जगत भारतको विस्तारित छिमेकको एक हिस्सा हो, जुन गहिरो सभ्यतागत सम्बन्धहरू, जनता–जनताबीचको जीवन्त सम्बन्ध र स्थायी भ्रातृत्वको सम्बन्धका साथै शान्ति, प्रगति र स्थिरताको लागि साझा प्रतिबद्धताद्वारा जोडिएको छ।”

“प्रविधि, ऊर्जा, व्यापार र नवप्रवर्तनमा बढ्दो सहयोगले नयाँ अवसरहरू खोल्ने र साझेदारीलाई नयाँ उचाइमा पु¥याउने विश्वास छ,” प्रधानमन्त्री मोदीले एक्समा उल्लेख गरेका छन् ।
भारत र अरब विदेशमन्त्रीहरूको दोस्रो बैठकका लागि यो प्रतिनिधिमण्डल भारतमा रहेको छ ।

प्रधानमन्त्री मोदीले आगामी वर्षहरूमा भारत–अरब साझेदारीको लागि आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए । भारत र अरब क्षेत्रका जनताको पारस्परिक लाभको लागि व्यापार र लगानी, ऊर्जा, प्रविधि, स्वास्थ्य सेवा र अन्य प्राथमिकता क्षेत्रहरूमा सहयोगलाई अझ गहिरो बनाउने भारतको प्रतिबद्धतालाई यसले थप पुष्टि गरेको उनले बताए ।

भेटमा उनले प्यालेस्टिनी जनतालाई भारतको निरन्तर समर्थन रहने कुरा दोहोर्याएका थिए भने गाजा शान्ति योजना सहित जारी शान्ति प्रयासहरूको स्वागत गरेका थिए । उनले क्षेत्रीय शान्ति र स्थिरता प्राप्तिका लागि अरब लिगले खेलेको महत्वपूर्ण भूमिकाप्रति आभार व्यक्त गरे ।

यस अघि भारत–अरब विदेशमन्त्रीहरूको दोस्रो बैठकमा मन्तव्य दिने क्रममा विदेशमन्त्री जयशंकरले कसरी भारत–अरब सहयोग मञ्चले सकारात्मक भावनाहरूलाई व्यावहारिक आकार दिने मञ्चको रूपमा काम गर्दछ भन्ने कुरा प्रकाश पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *