‘ब्रेकअप’ पछिको कथामा ‘रमिताको पिरती’

काठमाडौँ । नेपाली चलचित्र ‘रमिताको पिरती’ को ‘ब्रेकअप स्टोरी’ मा तयार भएको निर्देशक सुदिप्ताले बताएका छन् ।

चलचित्रको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक भएपछि आज नेपाल चलचित्र क्यामपसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्देशक सुदिप्ताले चलचित्रमा रमिता नामक पात्रको ‘ब्रेकअप’ भएपछिको कथालाई देखाईएको बताए ।

उनले भने, “नेपालमा यस्तो विषयमा चलचित्र बनेको छैन जस्तो लाग्छ । यो एउटा युवतीले प्रेममा ’ब्रेकअप’ भएपछि के गर्छिन् वा साचो प्रेम खोज्दा आउने परिस्थितिमा आधारित रहेर तयार गरिएको चलचित्र हो । मलाई यस्तै कथामा चलचित्र तयार गर्नु थियो, यसको कथासँग अहिलेको नव पुस्ताले जोडिएको महसुस गर्छन् जस्तो लाग्छ ।”

उनले चलचित्रको कथा ‘रमिता’ नामक पात्रकै वरिपरि घुम्ने बताए । चलचित्रमा ’रमिता’ को भूमिका अभिनेत्री आना शर्माले निर्वाह गरेकी छिन् । यस चलचित्रमा उनी अभिनयसँगै कार्यकारी निर्मात्रीको रूपमा पनि छिन्  । “मैले महिला केन्द्रीत पहिलो चलचित्रमा काम गर्दैछु । यसको कथासँग अपनत्व महसुस गरेकीले नै कार्यकारी निर्मात्रीको रूपमा जोडिएकी हुँ । हामीले चलचित्रमा नयाँ कथालाई स्थान दिने उर्जावान समूहसँग मिलेर काम गरेमा मात्र नयाँ विषय र चलचित्रकर्मीको आगमन हुन्छ । यो चलचित्र नियमित भन्दा फरक भन्ने तथ्यलाई यसको सार्वजनिक प्रचार सामग्रीले प्रस्ट्याउछ”, अभिनेत्री शर्माले भनिन्।

यसै चलचित्रमार्फत गायनमा स्थापित भएका गायक समीर श्रेष्ठ अभिनेताको रूपमा प्रस्तुत भएका छन् । प्राय आफ्नै गीतको श्रव्यदृश्य (म्युजिक भिडिओ) मा देखिने गायक श्रेष्ठले यसपटक अभिनेताको रूपमा नयाँ परिचय थपेका छन् ।

उनले भने, “मैले अभिनय गर्ने सोच बनाएको थिएँ । तर, सही समय र पटकथा पाउन सकेको थिइन् । मलाई अभिनेता बन्ने प्रस्ताव आउँदा पहिलो कुरा टोली राम्रो लाग्यो अनि विषयवस्तु सबै कुरा भने जस्तो भएपछि किन पर्खिने भनेर अभिनय यात्रा प्रारम्भ गरेको हुँ ।”

श्रेष्ठले आगामी समयमा गायन र अभिनयलाई सँगै अगाडि बढाउने बताए । उक्त चलचित्रमा धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, थिन्ले लामो लगायतका कलाकारले अभिनय गर्नुभएको छ । उक्त चलचित्रको पटकथा निर्देशक सुदिप्ताले नै तयार पार्नुभएको हो भने शिशिर विशङ्खेले छायाङ्कन, सुनिल सिवाकोटीले सम्पादन र कृतिका बरालले नृत्य निर्देशन गर्नुभएको छ । उक्त चलचित्र आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *