जमिन नजिकैबाट उडेका फ्रान्सेली सेनाका दुई विमान तारसँग ठोक्किँदा दक्षिण फ्रान्सको एक गाउँमा विद्युत् काटिएको छ । घटना बुधवार अपराह्न म्यानोस्क नजिकै ला क्यास्टले गाउँमा भएको हो ।
जमिनको सतह नजिकै उडेका दुई रफाल विमानले तार काटेको दुर्लभ घटनाबारे अनुसन्धान सुरु गरिएको छ । ‘यो यति तल आएको थियो कि यसले निकै ठूलो आवाज निकालेको थियो। मैले माथि हेरेँ र दोस्रो विमान देखेँ,’ गाउँका मेयरले स्थानीय पत्रिकालाई बताएका छन् । अलि पर पुग्दा उनले तार जमिनमा झरेको देखे ।
तार झरेपछि लागेको आगो तत्कालै नियन्त्रण गरिएको अर्को एउटा स्थानीय पत्रिकाले जनाएको छ । उक्त गाउँमा केही घण्टा विद्युत् बन्द भयो। सुरक्षाको कारण देखाउँदै केही समय सडकसमेत अवरुद्ध पारिएको थियो ।
