अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली (तनहुँ) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी परेका छन् । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाका १० स्थानीय तहका ७३ उजुरी परेको जनाइएको छ ।

कार्यालयका अधिकृत उदय पराजुलीका अनुसार शुक्लागण्डकी नगरपालिकाविरुद्ध १६, व्यास नगरपालिकाविरुद्ध १४, भानु नगरपालिकाविरुद्ध १२, देवघाट गाउँपालिकाविरुद्ध ११, आँबुखैरेनी गाउँपालिकाविरुद्ध सात, बन्दीपुर गाउँपालिकाविरुद्ध सात, म्याग्दे गाउँपालिकाविरुद्ध चार, भिमाद नगरपालिकाविरुद्ध एक र घिरिङ गाउँपालिकाविरुद्ध एक उजुरी परेको छ । ऋषिङ गाउँपालिकाविरुद्ध भने उजुरी नपरेको पराजुलीले बताए ।

यस्तै जिल्लामा गत आवको जिम्मेवारी सरी आएका २७ वटा मुद्दा रहेको छ । गत आव र चालु आवको गरी एक सय उजुरी रहेकामा ३८ उजुरी फछ्र्योट भएको पराजुलीले जानकारी दिए । देवघाट गाउँपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको आयोजनामा बिहीबार देवघाट गाउँपालिकामा आयोजित कार्यक्रममा पराजुलीले भ्रष्टाचार र अनियमितताविरुद्ध उजुरी कसरी गर्ने, भ्रष्टाचारको रुप, भ्रष्टाचार कसुर र सजाय (भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ३–२३)का बारेमा जानकारी गराएका थिए ।

कार्यालयका प्रमुख नारायणप्रसाद रेग्मीले आयोगमा उजुरी पर्दैमा डराउनु नपर्ने बताए । उजुरी परेपछि त्यससम्बन्धी निष्पक्ष छानबिन हुने र निर्दाेषलाई सफाइ र दोषीलाई कानुनअनुसार कारबाही हुने बताए । देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले स्थानीय तहले कुनै पनि काम गर्न लाग्दा अख्तियारमा उजुरी हालेर दुःख दिने गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *