-विदुषी राणा ।
मेरो नाम समानुपातिक सूचीमा परेपछि, म यहाँ किन र कुन उद्देश्यका साथ आएको हुँ भन्ने कुरा स्पष्ट गर्नु मेरो दायित्व ठानेकी छु। म समानुपातिक प्रतिनिधित्वलाई अधिकारभन्दा पनि जिम्मेवारीका रूपमा बुझ्छु। ‘समानुपातिक सूची मेरो अधिकार होइन, जिम्मेवारी हो भोलिको पुस्ताको आवाज लिएर यहाँ छु।’
म कहिल्यै व्यक्तिगत राजनीतिक महत्वाकांक्षा बोकेर अघि बढेकी व्यक्ति होइन, मेरो परिचय राजनीति होइन, उद्योग, उत्पादन र श्रमसँग जोडिएको छ । ५५ वर्षभन्दा बढी इतिहास बोकेको गोल्डस्टार जुत्ता उद्योगसँग म एक दशकभन्दा लामो समयदेखि आबद्ध छु। यस उद्योगमार्फत आज ३,०००–४,००० महिलाले प्रत्यक्ष रोजगारी पाएका छन् र त्यसको तीन–चार गुणा बढी परिवार अप्रत्यक्ष रूपमा आय र जीवनसँग जोडिएका छन्।
यस यात्राले मलाई गहिरो रूपमा बुझाएको छ कि उद्योग केवल व्यापार मात्र होइन, यो देशको भविष्य निर्माण गर्ने आधार हो। स्वदेशी उत्पादन, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, सीप विकास र महिलाको आर्थिक सशक्तिकरण कुनै नारा होइनन्, यी हामीले दैनिक रूपमा भोगिरहेका यथार्थ हुन्।तर दुःखका साथ भन्नुपर्छ, आज उत्पादन क्षेत्र जिडिपीको पाँच प्रतिशतभन्दा कममा सीमित छ र हाम्रो अर्थतन्त्र रेमिट्यान्स तथा आयातमा अत्यधिक निर्भर बन्दै गएको छ। यसको प्रत्यक्ष असर युवाको रोजगारी, महिलाको आत्मनिर्भरता र राष्ट्रको दीर्घकालीन भविष्यमा परिरहेको छ। यही कारणले विगत धेरै वर्षदेखि मैले उद्योग र उत्पादन क्षेत्रले भोग्दै आएका नीतिगत ढिलाइ, कर प्रणाली, व्यापार नीति, ढुवानी, निर्यात, वित्तीय पहुँच र श्रमसम्बन्धी चुनौतीहरू निरन्तर रूपमा उठाउँदै आएको छु, किनभने manufacturing नै समग्र उद्योगको मेरुदण्ड हो।यही सन्दर्भमा नगर प्रमुख बालेन साहज्यूले मलाई समानुपातिक सूचीमार्फत उद्योग, रोजगारी र अर्थतन्त्रका मुद्दामा अनुभवसहितको आवाज संसदमा अघि बढाउन आग्रह गर्नुभयो।
यो आग्रह कुनै राजनीतिक करियरका लागि होइन, नेपाली उद्योग बाँचोस्, रोजगारी सिर्जना होस्, महिला आर्थिक रूपमा सक्षम बनून् र नेपाल उत्पादनशील बनोस् भन्ने साझा चिन्ताबाट आएको थियो। गहिरो संवाद र बारम्बारको विचारविमर्शपछि मैले यो जिम्मेवारी स्वीकार गरेकी हुँ । मेरो नाम खस–आर्य समूहअन्तर्गत समानुपातिक सूचीमा समावेश गरिएको छ, जुन प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका,२०८२, परिच्छेद–४, दफा १३(३)क(३)बमोजिम हो। मैले यो जिम्मेवारी कुनै व्यक्तिगत राजनीतिक लाभका लागि होइन, स्वदेशी उत्पादन, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, सीप विकास, अर्थपूर्ण रोजगारी र महिलाको आर्थिक सशक्तिकरणको आवाज संसदमा उठाउन स्वीकार गरेकी हुँ । संविधान २०७२ ले सुनिश्चित गरेको समावेशी प्रतिनिधित्वको मर्मअनुसार, उद्योग र उत्पादन क्षेत्रमा पुरुष र महिला दुवैको समान सहभागिता अपरिहार्य छ भन्ने मेरो दृढ विश्वास छ।
यदि भविष्यमा यी एजेन्डालाई सक्षम र योग्य अझ प्रभावकारी रूपमा अघि बढाउन सक्नुहुन्छ भने, म पूर्ण सम्मानका साथ जिम्मेवारी हस्तान्तरण गर्न तयार छु। मेरो चासो पद वा अधिकारमा होइन, मेरो चासो मुद्दा र यसको निरन्तरतामा छ। नेपालको भविष्य उत्पादनशील उद्योग, अर्थपूर्ण रोजगारी र महिलाको आर्थिक सशक्तिकरणमा निर्भर छ। यही विश्वासका साथ म यस भूमिकामा इमानदार, जिम्मेवार र रचनात्मक योगदान दिन प्रतिबद्ध छु।
