हिजो मृत्यु शैयामा रहेका गिरिजाप्रसादलाई हेरेर विधान संशोधन, आज देउवा हेरेर विशेष अधिवेशन !

-केशवप्रसाद भट्टराई

मितिमा आफू कमजोर भएकोले कुन साल हो भन्न सक्दिन, पार्टी सभापति गिरिजाबाबु मृत्यु शैयामा हुनुहुन्थ्यो र पार्टी विधानमा संसोधन सम्बन्धी छलफलमा म पनि आमन्त्रित थिएँ । मूलतः सभापतिको अधिकार कटौतीको कुरा आयो–उक्त छलफलमा । प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन हुनुपर्ने विषय उठाउँदै आउनु भएका काङ्ग्रेसका वौद्धिक नेता मानिने महानुभाव पनि हुनुहुन्थ्यो । मैले जिज्ञासा राखेँ–तपाईँ त प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचनको पक्षमा वकालत गर्दै आउनुभएको व्यक्ति अर्थात् अत्यन्त शक्तिशाली प्रधानमन्त्री । देशको लागि शक्तिशाली प्रधानमन्त्री र पार्टीको लागि कमजोर सभापति ? किन यसो ? उहाँले भन्नुभयो गिरिजाप्रसादको हातबाट अधिकार खोस्नको लागि यो आवश्यक भयो पछि फेरि पुनर्विचार गरौंला ।
गिरिजाबाबुका भाइ नै कार्यवाहक सभापति र उहाँले नै बोकेर पार्टी र सरकारमा हालीमुहाली गराउँदे आउनुभएका व्यक्ति विधान संशोधन सम्बन्धी समितिमा संयोजक हुनुहुन्थ्यो । गिरिजाप्रसादलाई हेरेर काङ्ग्रेस विधानले सभापतिको अधिकारमा व्यापक कटौती गर्यो ।

हिजो मृत्यु शैयामा रहेका गिरिजाप्रसादलाई हेरेर पार्टी विधान संशोधन गरियो , अहिले आएर दुई चार महिनामा पार्टी राजनीतिबाट विश्राम लिँदै गरेका शेरबहादुरलाई हेरेर विशेष अधिवेशन ! गिरिजाप्रसाद पछि सभापति हुनुभएका काङ्ग्रेस नेताले बारम्बार सभापतिको अधिकारविहीन भएकाले काङ्ग्रेसमा अनुशासन कायम राख्न नसकिएको गुनासो गर्नुहुन्थ्यो । सामूहिक नेतृत्वको अराजक तुरूप अघि सारेर काङ्ग्रेस सभापतिको अधिकारमा व्यापक कटौती गरिएको अवस्थाले काङ्ग्रेस एक किसिमले मियोविहीन र केन्द्रविहीन छ । दुई चार महिना वरपर काङ्ग्रेसको महाधिवेशन होला नै, त्यतिखेर सभापति जोसुकैलाई बनाउनुहोस् तर विधान संशोधन गरेर केन्द्रीय समितिका सदस्यहरू मध्येबाट सभापतिले पदाधिकारीहरू मनोनित गर्ने व्यवस्था गर्नु आवश्यक हो कि ? काङ्ग्रेस यस्तै मियोविहीन वा केन्द्रविहीन रहिरहने हो भने अव उप्रान्त जोसुकै सभापति भएपनि बीचैमा ४० प्रतिशतको हस्ताक्षर र विशेष अधिवेशनको मागले काङ्ग्रेसमा यस्तै यस्तै …।

Leave a Reply

Your email address will not be published. Required fields are marked *