काठमाडौँ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिकतर्फ ११० जना उम्मेदवारको बन्दसूची दलहरुले निर्वाचन आयोगमा बुझाउनुपर्छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची बुझाइसकेका छन् । तर समानुपातिको बन्दसूचीलाई लिएर यतिबेला राजनीतिक दलहरुप्रति तीव्र आलोचना भइरहेको छ । पुराना भनिएका दलहरुको आलोचना हुनु स्वाभाविक भएपनि नयाँ दलमा पनि त्यस्तै समस्या दोहोरिएको भन्दै आलोचना भइरहेको हो ।
समानुपातिकको बन्दसूचीमा समावेश भएका नामलाई लिएर आलोचना भएको हो । सामाजिक अभियन्ता आशिका तामाङले दलहरुले बुझाएको समानुपातिक उम्मेदवारको सूचीमाथि प्रश्न उठाएकी छन् ।
समानुपातिकमा भ्रष्ट ठेकेदारको छोरा, बिचौलियाको छोरा छोरीको नाम समावेश गरेको भन्दै आपत्ति जनाएकी हुन् । उनले नेपोकिडसविरुद्धको ७३ जना जेन्जी भाइबहिनीले राज्यलाई दिएको आहुती र बलिदान आज यही दिन देख्न हो ? भन्दै प्रश्न गरेकी छन् ।
उनले सामाजिक संजालमा लेखेकी छन्, ‘समानुपातिक भनेको के हो ? समानुपातिक भनेको पिछडिएको अल्पसंख्यक वर्ग, क्षेत्र जहाँ राज्यको नीति निर्माण पुग्न नसक्नेहरुकालाई छुट्टाइएको कोटामा भ्रष्ट ठेकेदारको छोरा, बिचौलियाको छोराछोरी सांसद र मन्त्री हुने भए नेपोकिड्स विरुद्धको ७३ जना जेनजी भाइ बहिनीले राज्यलाई दिएको आहुती र बलिदान आज यही दिन देख्न हो ???’
‘समानुपातिक प्रतिनिधित्व प्रणालीलाई दलहरूले सांसद पद बिक्री केन्द्र बनाए’
जेनजी अगुवा रक्षा बम पनि समानुपतिकको सूचीलाई लिएर आक्रोशित भएकी छन् । सामाजिक संजालमार्फत उनले यसको विरोधी गरेकी छन् ।
उनी लेख्छिन्:
‘सदियौँदेखि पछि पारिएका समुदाय, पछाडि पारिएका ठाउँ र उनीहरूको आवाजलाई सदनमा प्रतिनिधित्व गराउने उद्देश्यले नेपालको संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको हो । निश्चित वर्गको हालीमुहाली तोड्न, सदियौँदेखिको असमान शक्ति वितरणका कारण पछाडि पारिएका समुदायहरूको उत्थान गर्न यो प्रणाली लागू गरिएको थियो। दुःखद कुरा चैं, हिजो हजारौँको बलिदानबाट प्राप्त भएको यही समानुपातिक प्रतिनिधित्व प्रणालीलाई आज दलहरूले सांसद पद बिक्री केन्द्र बनाएका छन् । आफ्ना नातेदार भर्ती गर्ने केन्द्र बनाएका छन्। र यतिखेर दलहरूको समानुपातिक सूची देखेर मन खिन्न भयो। …. र यसैबीच, मेरो सुदूर अझै पनि सुदूर नै छ। त्यहाँका मानिस, त्यहाँका समुदाय र वर्षौँदेखि राजधानीबाट अपहेलित एउटा भूगोल पनि यो देशको मानचित्रमा पर्छ भन्ने कुरा सबैले बिर्सिएका छन्।’
समानुपातिक सूचीप्रति तोसिमाको असन्तुष्टि
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तोसिमा कार्कीले पार्टीले छनोट गरेको समानुपातिक सूचीप्रति असन्तुष्टि जनाएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले विपन्नलाई स्थान नदिएको भन्दै आपत्ति जनाएकी हुन् ।
उनी लेख्छिन्ः
समानुपातिकको अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरुले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो। सूचीले विपन्नलाई पनि ठाउँ दिनुपर्छ। सूचीले कर्णाली बोल्नुपर्छ। सुदूर पश्चिम बोल्नुपर्छ। सूचीले गाउँ बोल्नुपर्छ। तर पार्टीको नेतृ्त्वका आफन्तहरु र पार्टीको भाइटल पोष्टमा हुनेहरु नै समानुपातिक सूचीको लागी आकाङ्क्षि हुनु र त्यहीँ आफ्नो स्पेस बनाउनु/बनाईनुले समानुपातिक प्रविधिको औचित्यमाथि नै प्रश्न गरेको छ। समानुपातिकले समावेश गराउनुपर्छ निषेध होइन ।
फेरि विरोधी भएजस्तो सुनिएला तर पार्टीको सचिवालय सदस्य र पदाधिकारीहरु भनेको सधैँ पोसिसन अफ बेनिफिटमा हुन्छन्। चाहे प्राइमरीको भोटिङमा होस् या ईभालुएसनमा। पार्टीको महाधिवेशन नभएसम्मको अवस्थामा आजको दिनसम्म पदाधिकारी या सचिवालय दुबै निर्वाचनबाट बनेको होइन, पार्टी भित्र पनि पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सूचीमा । त्यो पनि प्राइमरी भोटिङकै धज्जी उडाउँदै अग्रपङ्तिमा नाम सुरक्षित गरिने, यो प्रवृति पुराना दलभन्दा धेरै फरक देखिएन।
मैले सधैँ भन्ने गरेको छु र फेरि पनि भन्छु,पार्टीको भाइटल पोसिसनमा बस्ने साथीहरुले प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्छ। अहिले त झन् पार्टी यति ठूलो भएको छ, साथीहरु किन डराउनुभएको ? कति असुरक्षित महसुस गर्नुभएको ? सचिवालय सदस्य र पदाधिकारीहरु नै चुनाव लड्न डराउनुभयो भने अरुले के गर्ने ? हामीले साच्चिकै उदाहरणिय नेतृत्व गर्ने हो भने सबै पदाधिकारी तथा सचिवालय सदस्यहरुले आ–आफ्नो नाम समानुपातिकको सूचीबाट हटाएर प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्छ। साथै समानुपातिकको सूचीमा आफन्तवाद र नातावादलाई पूर्ण रुपले निषेध गरिनुपर्छ। जय घण्टी ।
विवेकशील नेपालीकी भावना राउतले समानुपातिकमा कुनै पनि पार्टीलाई अन्धाधुन्ध समर्थन नगर्ने चेतावनी दिएकी छन् । उनी भन्छिन्, ‘यो समानुपातिक सूची सच्याइएन भने हाम्रो निर्णय स्पष्ट छ, प्रत्यक्षमा उम्मेदवार हेरेर भोट हालिन्छ, अनि समानुपातिकमा कुनै पनि पार्टीलाई अन्धाधुन्ध समर्थन गरिँदैन। उज्जवल थापाले सधैं भन्नुहुन्थ्यो, समर्थन गर्नेहरूलाई प्रश्न गर्न र जवाफदेही बनाउन सकिएन भने हामी अन्धभक्त बन्छौं, र राजनीतिमा अन्धभक्त हुनु भनेको मुलुकलाई धोका दिनु हो। म अन्धभक्त बन्न सक्दिनँ । म चाहन्छु रास्वपा ठूलो पार्टी बनोस्, बालेन प्रधानमन्त्री बनून्, पार्टीले बहुमत पाओस् तर नैतिक मूल्य साटेर, गलतलाई सही ठानेर, जिउँदो लास जस्तै अन्धसमर्थक बन्न म सक्दिनँ। समर्थन गर्न म पहिलो पंक्तिमा उभिन्छु, तर प्रश्न गर्न, आलोचना गर्न र जवाफदेही बनाउन पनि म पहिलो पंक्तिमै उभिन्छु, यो मेरो प्रतिबद्धता हो। मैले बुझेको राजनीति हो ।
पुराना भनिएका कांग्रेस एमालेमा पनि समानुपातिकको सूचीलाई लिएर असन्तुष्टि देखिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले पार्टी उपाध्यक्ष रामबहादुर थापा बादललाई समानुपातिक सूची त्यागेर प्रत्यक्ष चुनाव लड्न सुझाव दिएका छन् । बास्कोटाले सामाजिक संजालमा लेखेका छन्, ‘समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक पटक बसेपछि यो प्रणालीको विरोध हुनु ठिक हो । अझ तिनै रुख र सुर्य मिलेर चुनावमा जानुपर्छ भन्छन् । रुख–सुर्य मिलेपछि चुनाव लडे भो त । अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले । समावेशीताकै बेइज्जत नगर के–त्यो पनि पुरुषले ।’
बन्दसूचीमा दलहरुले कलाकार, खेलाडी, व्यापारीका छोराछोरी राखेका छन् । नातावाद कृपावाद नछाडेको भन्दै यसको विरोध भएको हो ।
नेपालको पहिलो ब्लग माइसंसारका सम्पादक उमेश श्रेष्ठले बन्दसूचीलाई लिएर अनेक प्रश्न गरेका छन् ।
‘हामी संसद बनाउन खोज्दैछौँ, कि नेपाल आइडल वा को बन्छ करोडपतिको अर्को सिजन ?’
समानुपातिक उम्मेदवारको सूची सार्वजनिक भएपछि एकछिन लाग्यो, यो संसद् बनाउने सूची हो कि मनोरञ्जन कार्यक्रमको लाइनअप ? गायक छन्, नायक छन्, कार्यक्रम होस्ट छन्, व्यापारी छन् । अब प्रश्न उठ्छ, उनीहरू संसद् कानुन बनाउन जाने हुन् कि ताली बटुल्न, लाइभ शो गर्न र इमेज चम्काउन ?
संसद कुनै रियालिटी शो होइन, जहाँ लोकप्रियताका आधारमा राउन्ड पास हुन्छ। यो त नीति, विधेयक, संविधान, र राज्यको दीर्घकालीन दिशा तय हुने थलो हो। यहाँ स्क्रिप्ट होइन, संविधान पढ्नुपर्छ । म्युजिम भिडियो हैन, कानुन बनाउनु पर्छ।
यहाँ ताल होइन, तर्क मिलाउनुपर्छ। यहाँ फ्यान होइन, जनताको उत्तरदायित्व बोक्नुपर्छ । लोकप्रिय अनुहार हुनु आफैँमा अपराध होइन। तर लोकप्रियता नै योग्यता हो भन्ने भ्रम लोकतन्त्रका लागि खतरनाक हुन्छ । समानुपातिक प्रणाली त सीमान्तकृत, नबोलिने, नीति निर्माणमा नपुगेका समुदायलाई आवाज दिने माध्यम हो, सेलिब्रिटी सुरक्षित पार्किङ स्थल होइन । यदि संसद कन्सर्ट हलजस्तै चल्ने हो भने, विधेयक पास होइन तालीको आवाज गन्न थालिन्छ। यदि नीति बहस ट्रेण्ड र लाइकले तय गर्ने हो भने, संविधान होइन, एल्गोरिदमले देश चलाउँछ । आज संसदमा माइक समात्ने सीप भन्दा मुद्दा समात्ने क्षमता चाहिन्छ । हामी संसद बनाउन खोज्दैछौँ, कि नेपाल आइडल वा को बन्छ करोडपतिको अर्को सिजन ?
