भोलिको सम्भावित ‘जेलयात्राको डर’ले दलहरुको ध्रुवीकरण !

काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरुबीच ध्रुवीकरण पनि बढेको छ । नयाँ, पुराना सबै दल एकीकरणमा लागेका छन् । सुरुमा वामपन्थी शक्तिलाई एक गराउने उद्देश्यले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका १५ राजनीति दल र संगठन मिलेर नेपाली कम्युनिष्ट पार्टी बन्यो । त्यसपछि दलहरुबीचको एकीकरणको लहर नै सुरु भएको छ । १५ दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा अरु दल थपिने क्रम जारी छ । सोमबार रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेकपामा समाहित हुँदा त्यहाँ एकीकरण हुने दलको संख्या २० नाघिसकेको छ ।

सहकारी ठगीमा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहा भएपछि भने दलहरुको ध्रुवीकरण बढेको छ । सुरुमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग एकतामा सहमति गरेका रविले कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीलाई पनि रास्वपामा समाहित गराएका छन् । कुलमान अब रास्वपाको उपसभापति बनेका छन् ।

रविले नयाँ दललाई एकतामा ल्याएपछि मधेसी दलका पनि त्यसको प्रभाव परेको छ । उपेन्द्र यादव नेतृत्वको जसपा र महन्थ ठाकुर नेतृत्वको लाकतान्त्रिक समाजवादी पार्टी(लोसपा)बीच पनि पार्टी एकता गर्ने सहमित बनेको छ । अशोक राई नेतृत्वको जसपाबाट फुटेर रेणु यादव, पूर्वमन्त्री प्रदीप यादवलगायत अधिकांश नेताहरु उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा आएका छन् । त्यस्तै राप्रपा र राप्रपा नेपालबीच पनि एकतामा सहमति भएको छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा किन एकाएक दलहरु एकता गर्न थाले त ? राजनीतिक विश्लेषक मुमाराम खनाल पुराना र नयाँको एकता कुनै राजनीतिक एजेण्डामा नभई आआफ्ना ‘डरका एजेण्डा’ बाट प्रभावित भएका टिप्पणी गर्छन् । उनको टिप्पणी छ, ‘आसन्न निर्वाचनको पूर्वसन्ध्यामा नयाँ र पुराना दलहरूको बीचमा हुँदै गरेका तीव्र ध्रुवीकरणका परिघटनाहरुलाई अनेकौं आयामबाट हेर्न नसकिने होइन । तर पुराना दलका तीन शीर्ष नेताहरूको आपसी एकताको मुख्य कारण नयाँको आगमनले भोलिको संभावित ‘जेलयात्राको डर’ हो । ठिक त्यसैगरी नयाँ तीन शीर्ष नेताहरूको पनि पुराना नेता नै आए भने राजनीतिक कोपभाजनमा परिने र सम्भावित ‘जेलयात्राको डर’ हो । त्यसैले पुराना र नयाँको एकता कुनै राजनीतिक एजेण्डामा होइन, आआफ्ना ‘डरका एजेण्डा’ बाट प्रवाभित हुन्। अब यसमा कसैलाई धेरै गहिरा कुरा गरेर ‘विशेषज्ञ’ बन्ने मन भए भूराजनीति, अनेक शक्तिकेन्द्र र हुँदै नभएको राजनीति खोज्न पनि सकिन्छ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *