कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ

 

काठमाडौँ  ।  नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सको कन्सल्टेन्सी पार्टनरमा प्राइम कन्सल्टेन्सी एण्ड सर्भिसेज प्रालि जोडिएको छ । एनपिएलको तेस्रो संस्करणका लागि कर्णाली याक्स र प्राइम कन्सल्टेन्सी एण्ड सर्भिसेजबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र प्राइम कन्सल्टेन्सीकी निर्देशक प्रिज्मा गौतमले हस्ताक्षर गरे। सम्झौतासँगै प्राइम कन्सल्टेन्सी एनपिएलको तेस्रो संस्करणमा कर्णाली याक्सको कन्सल्टेन्सी पार्टनरका रूपमा रहनेछ । प्राइम पहिलोपटक कर्णाली याक्ससँग जोडिएको हो ।

सम्झौतापछि कर्णाली याक्सका क्रिकेट निर्देशक मल्लले नयाँ साझेदारीले कर्णालीको व्यावसायिक यात्रालाई थप मजबुत बनाउने बताए। “कर्णालीसँग पहिलोपटक जोडिएकोमा प्राइम कन्सल्टेन्सीलाई धन्यवाद दिन्छौँ । यो साझेदारीले कर्णालीलाई मैदानभित्र मात्र होइन् बाहिर थप व्यवस्थित र व्यावसायिक रूपमा अघि बढ्न सहयोग पुग्ने विश्वास लिएका छौँ”, उनले भने।

प्राइम कन्सल्टेन्सीकी निर्देशक गौतमले कर्णाली याक्ससँगको सहकार्यलाई नेपाली क्रिकेटसँग जोडिने अवसरका रूपमा लिएको बताइन्। “कर्णालीसँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौँ । नेपाली क्रिकेट र एनपिएलले पछिल्लो समय ठूलो सम्भावना देखाइरहेको छ । यही यात्रामा कर्णालीसँग जोडिन पाउनु हाम्रो लागि महत्त्वपूर्ण अवसर हो । आगामी दिनमा कर्णाली याक्सको यात्रामा आफ्नो क्षेत्रबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ”, उनले भनिन्।

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ । लिगका लागि कर्णाली याक्सले विदेशी खेलाडीको रूपमा इङल्याण्डका मार्क वाट र बङ्गलादेशका अकबर अलीलाई अनुबन्ध गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *