काठमाडौंमा १६ औँ ञिङमा मोन्लाम सुरु

काठमाडौँ । विश्व प्रसिद्ध बौद्ध तीर्थस्थल बौद्ध चैत्य (छोर्तेन ज्यरुङ खशोर) नजिकैको शेर्पा सेवा केन्द्र (शेर्पा गोन्पा) मा सोमबारदेखि १६ औँ नेपाल ञिङमा मोन्लाम (प्रणिधान पूजापाठ) कार्यक्रम सुरु भएको छ । नेपाल बौद्ध ञिङमा संघको आयोजनामा यो कार्यक्रम पुस शुक्लपक्ष दशमीदेखि पूर्णिमा (पुस १४ देखि १९ गते) सम्म ६ दिनसम्म सञ्चालन हुनेछ ।

नेपाल बौद्ध ञिङमा संघले २०६६ सालदेखि वार्षिक रूपमा यस मोन्लाम कार्यक्रम आयोजना गर्दै आएको छ। यसमा देशभरका विभिन्न गोन्पाका रिन्पोछे, टुल्कु, खेन्पो, लामा, र लोपोनहरूको साथै बौद्ध उपासक र उपासिकाहरूको सहभागिता रहने गर्दछ । विश्व शान्तिको कामनासहित आयोजना गरिएको मोन्लाम पाठपूजामा संसारभर कुनै पनि प्रकारका रोग, युद्ध, कलह, प्राकृतिक प्रकोप लगायतका समस्याबाट मुक्ति तथा दिगो शान्ति, सुख, र समृद्धि होस भन्ने प्रार्थना गरिन्छ । मोन्लाम कार्यक्रमले बुद्धभूमि नेपालका बौद्ध तीर्थस्थलहरूको प्रचारप्रसार, धार्मिक र सांस्कृतिक महत्त्वको संरक्षण, तथा आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धनमा समेत योगदान पुर्याउने उद्देश्य लिएको छ ।

विहान ७ः३० देखि अपहरान ४ बजेसम्म सञ्चालन हुने मोन्लाममा महायान बौद्ध परम्पराअनुसार पाठपूजा गरिन्छ। यस क्रममा शरण गमन, बोधिचित्त उत्पाद, प्रज्ञापरामिता हृदय सूत्र, आचार्य पद्मसम्भवका सप्त परिच्छेद, आर्य भद्रचर्या प्रनिधान राजा, आर्य मञ्जुश्री नाम सांगीति, तारा स्तुति, र मंगल परिणामनाको पाठ गरिन्छ। सामूहिक प्रार्थनामा भिक्षु, श्रमणेर, श्रमणेरिका, उपासक, र उपासिकाहरूले लयबद्ध रूपमा मोन्लाम मन्त्र उच्चारण गर्दै समस्त प्राणीहरूको हित र कल्याणको कामना गर्छन् । पूजास्थलमा रांगीचंगी तोर्म निर्माण तथा निर्माल जलको सजावट गरिएको छ। पूजामा उपस्थित श्रद्धालुहरूले रिन्पोछे तथा लामाहरूको दर्शन र सामूहिक पाठ सुनेर आफ्नो मनमा शान्ति र सकारात्मक ऊर्जा प्राप्त भएको बताएका छन् ।

कार्यक्रममा विशेष धर्मगुरुहरू परम श्रद्धेय टुल्कु रिग्जीन पेमा रिन्पोछे, परम श्रद्धेय खेन्पो साङग्या राङज्यूङ रिन्पोछे, श्रद्धेय टुल्कु ङवाङ थरछिन रिन्पोछे, तथा श्रद्धेय टुल्कु ङवाङ लाप्सुम रिन्पोछेको उपस्थिति रहेका छन् । विभिन्न जिल्लाका गोन्पाहरूबाट आएका हजारौँ भिक्षु, श्रमणेर, श्रमणेरिका, उपासक, र उपासिकाहरूले कार्यक्रममा सहभागिता जनाएका छन् ।

मोन्लाममा विभिन्न संघसंस्थाका स्वयंसेवकहरूले निस्वार्थ रूपमा सहयोग पुर्याइरहेका छन्। उनीहरूले कार्यक्रम स्थलको सरसफाइदेखि सहभागी भिक्षु, श्रमणेर, र श्रद्धालुहरूलाई चिया, खाजा, र खाना वितरण गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *