प्रज्जवल थापा । फ्रान्सेली युवा फर्वार्ड किलियन एम्बाप्पेको ह्याट्रिकको सहयोगमा पेरिस सेन्ट जर्मन(पिएसजी)ले युईएफए च्याम्पियन्स लिगमा बार्सिलोनामाथि शानदार जित निकालेको छ । मंगलबार राती च्याम्पियन्स लिग अन्तर्गत भएको अन्तिम १६ को पहिलो लेगमा पिएसजीले बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको मैदान क्याम्प नोउमा भएको खेलमा पिएसजीलाई जित दिलाउन किलियन एम्बाप्पेले ह्याट्रिक पूरा गर्दा मोइसे किनले एक गोल थपे । बार्सिलोनाको लागि कप्तान लियोनल मेस्सीले गरेको गोल सान्त्वनामा सिमित रह्यो । खेलमा शुरुवाती अग्रता भने घरेलु टोलीले लिएको थियो । खेलको २७ औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई खेलमा अगाडि बढाएका थिए । विपक्षी खेलाडीले डि योङलाई पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीमा मेस्सीले कुनै गल्ती गरेनन् ।

तर बार्सिलोनाको अग्रता धेरैबेर टिक्न सकेन । पाँच मिनेट बित्न नपाउँदै मार्को भेराटीको पासमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई बराबरीमा ल्याए । यस्तै ६५ औं मिनेटमा एम्बाप्पेले दोस्रो गोल गर्दै पिएसजीलाई खेलमा अग्रता दिलाएका थिए । ७० औं मिनेटमा पेरेडेसको फ्रि-किकमा मोइसे किनले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए ।
८५ औं मिनेटमा जुलियन ड्राक्सलेरको पासमा एम्बाप्पेले गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे । बाँकी समयमा थप गोल हुन नसक्दा पिएसजी ४-१ गोलले विजयी भएको हो । अब पिएसजीको घरेलु मैदानमा हुने दोस्रो लेग मार्च १० मा हुनेछ ।
