गम्भीर चोटका कारण सावित्रा एक वर्ष मैदान बाहिर

प्रज्जवल थापा । विभागीय टोली नेपाल एपिएफ क्लबकी स्टार स्ट्राइकर सावित्रा भण्डारी घुँडाको गम्भीर चोटका कारण एक महिना मैदान बाहिर रहने भएकी छिन् । राष्ट्रिय महिला लिग अन्तर्गत सोमबार दिउँसो नेपाल पुलिस क्लबविरुद्ध भएको खेलमा सावित्रा घाइते भएकी थिइन् ।

सोमबार सावित्राको एमआरआई परिक्षण गरिएको थियो । आज मंगलबार आएको रिपोर्टमा उनको घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको देखिएको हो । गम्भीर चोट लागेकी सावित्राको शल्यक्रिया गर्नुपर्नेछ । सावित्राले लिगको १० खेलमा ४३ गोल गरिसकेकी छिन् ।

एन्फा कम्प्लेक्समा सोमबार भएको खेलको ६९ औं मिनेटमा विपक्षी गोलरक्षक उषा नाथसँग ठोक्किदा सावित्रा घाइते भएकी थिइन् । उक्त खेल एपिएफले २-१ गोल अन्तरले जितेको थियो । सावित्राको स्थानमा मैदान छिरेकी रबिना गोलेले गोल गर्दै एपिएफलाई जित दिलाएकी थिइन् ।

हाल एपिएफ १० खेलमा सतप्रतिशत जित निकाल्दै ३० अङ्कको साथ शिर्ष स्थानमा रहेको छ । समान खेलबाट २५ अङ्क जोडेको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा रहेको छ । एपिएफलाई उपाधि जित्नको लागि बाँकी दुई खेलमा मात्र ३ अङ्कको आवश्यकता रहेको छ । एपिएफले बुधबार बिराटनगर महानगरपालिकाको सामना गर्नेछ । उक्त खेल जितेको खण्डमा एपिएफ एक खेल अगावै लिग च्याम्पियन बन्नेछ । अन्तिम खेलमा एपिएफले आर्मीको सामना गर्नेछ ।

तस्बिर:- एन्फा

Leave a Reply

Your email address will not be published. Required fields are marked *