काठमाडौँ । संसदीय समितिले गोन्पा(बौद्ध गुम्बा)विरुद्ध फैलाइएको भ्रामक प्रचारको छानबिन र कारबाही गर्न निर्देशन दिएको छ ।
आइतबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकले देशमा धार्मिक तथा सम्प्रदायिक द्वन्द्व निम्त्याउन खोज्ने व्यक्तिहरूमाथि तत्काल सत्यतथ्य छानबिन गरी दोषी ठहरिएमा प्रचलित कानूनी व्यवस्थाअनुसार कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
समितिका सदस्यहरूले नेपाल बौद्ध महासंघका अध्यक्ष नोर्बु थुन्डु शेर्पा (गेशे थुप्तेन जिन्पा) र सल्लाहकार आचार्य नुर्बु शेर्पासँग छलफल गरेका थिए ।
छलफलका क्रममा नेपाल बौद्ध महासंघको तर्फबाट गोन्पाको परिचय, वास्तविकता र भ्रम विषयक पाँच पृष्ठको कार्यपत्र प्रस्तुत गरिएको थियो ।
कार्यपत्रमा गोन्पाको ऐतिहासिक पृष्ठभूमि, परिचय, सामाजिक भूमिका, प्रकार, यथार्थ र भ्रम, गोन्पासम्बन्धी फैलाइएका भ्रमहरू तथा सुधारका सुझावहरू समेटिएका छन् ।
त्यसैगरी गोन्पाहरूको सही परिभाषा, उचित मूल्याङ्कन, वर्गीकरण, सञ्चालन तथा व्यवस्थापन, एकद्वार प्रणालीअन्तर्गत दर्ता, सञ्चालन र नियमनको व्यवस्था आवश्यक रहेको निष्कर्ष निकाल्दै गोन्पा ऐन निर्माण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि समितिले गरेको छ ।


