म्यान्मारमा प्रदर्शनकारीलाई २० वर्षसम्म जेल सजाय हुन सक्ने सेनाको चेतावनी

म्यान्मारमा कू विरुद्ध प्रदर्शन गरिरहेकाहरूले सशस्त्र बलहरू माथि अवरोध खडा गरेमा उनीहरूले २० वर्ष सम्मको जेल सजाय भोग्नुपर्ने सेनाले चेतावनी दिएको छ । सैन्य नेतृत्व प्रति घृणा वा अवहेलना फैलाएको पाएमा उनीहरूलाई लामो जेल सजायका साथै जरिवाना समेत गराइने सेनाले जनाएको छ ।

म्यान्मारका विभिन्न सहरहरूमा हतियार सहितका गाडीहरू गुडिरहेका बेला कानुनमा भएका परिवर्तनको घोषणा गरिएको हो । सेनाले गरेको उक्त कू विरुद्ध पछिल्ला दिनहरूमा विभिन्न सहरहरूमा हजारौँ सर्वसाधारणहरू प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले आफ्नै निवासमा नजरबन्दमा रहेकी नेतृ आङ सान सूचीको रिहाइ र प्रजातन्त्रको पुनर्बहालीको माग गरिरहेका छन् ।

सोमवार सूचीका वकिलले उनलाई थप दुई दिन हालकै अवस्थामा राखिने जानकारी दिए । उनीमाथि गैरकानुनी रूपमा आफ्नो सुरक्षार्थ खटिएका कर्मचारीहरूले प्रयोग गर्ने वाकिटकी राखेको लगायतका आरोप लगाइएको छ । एउटा दूरसञ्चार प्रदायकले म्यान्मारमा लगातार दोस्रो रात इन्टरनेट सेवा अवरुद्ध पारिएको बताएको छ ।

सेनाले बोलेर, लेखेर वा साङ्केतिक सहित जुनसुकै रूपमा आफूहरूप्रति घृणा बढाउने काम गरेको पाए लामो जेल सजाय सहित जरिवानाको व्यवस्था गरिएको जनाएको छ । आफ्नो वेबसाइटमा प्रकाशन गरिएको विज्ञप्तिमा उसले सुरक्षा निकायको काम कारबाहीमा अवरोध खडा गरेमा २० वर्ष सम्म जेल सजाय हुन सक्ने उल्लेख गरेको हो ।

त्यस्तै सर्वसाधारणहरूमा डर वा अशान्ति पैदा गर्न खोजेको पाइएमा तीन देखि सात वर्षसम्म जेल सजाय हुन सक्ने बताइएको छ । सैन्य सरकारले पक्राउ गर्न सक्ने, खोजतलास गर्न सक्ने र मानिसहरूलाई अदालतको आदेश बिनै २४ घण्टासम्म पक्राउ गर्न सक्ने अधिकार शनिवार आफैलाई प्रत्यायोजन गरेको छ । सञ्चारकर्मीहरूलाई सेनाको कदमलाई कू का रूपमा व्याख्या नगर्न भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *