संविधान मिच्ने ओलीले निर्वाचन गराउँछन् भनेर पत्याउनेलाई रामराम मात्र भन्न सकिन्छः नेता सिंह

पोखरा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तानशाही शासन तन्काउन निर्वाचनको घोषणा गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध कास्कीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले ओलीले नहुने निर्वाचनको मिति घोषणा गरेको बताएका हुन्। उनले तानशाही शासन तन्काउन हुनै नसक्ने चुनाव घोषणा गरे।

शासन लम्बाउन कसैलाई प्रलोभनमा फसाउन सकिन्छ कि भनेर उनले चुनावको चाल चलेका हुन्,’ सिंहले भने। उनले अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गरे। ‘प्रतिनिधिसभा विघटनको मुद्दा अहिले सर्वोच्च अदालतमा छ। अब न्यायमूर्तिहरुले न्याय दिँदा संविधानको व्यवस्था र भावनालाई हेरेर दिनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘हिजो राजा ज्ञानेन्द्रले शाही आयोग गठन गरे। त्यो बेला अदालतले त्यसलाई असंवैधानिक ठहर गर्यो। अहिले पनि असंवैधानिक ठहर गर्ने विश्वास छ। हिजो पनि सेटिङको कुरा थियो, आज पनि छ। तर सर्वोच्चले आफ्नो गरिमा कायम गर्ने गरि निर्णय गर्नेछ।’

पुनर्वहाली भयो भने नेपालको राजनीतिक नेपालकै हातमा रहने तर विघटन सदर भयो भने मुलुकमा शक्तिकेन्द्रहरुको चलखेल बढ्ने उनको भनाइ छ । उनले संसदीय व्यवस्थाको सुन्दर पक्ष चेक एन्ड व्यालेन्स भएको भन्दै उनले कार्यपालिकाले व्यवस्थापिका माथि प्रहार गर्दा न्यायपालिकाले सच्चाउनुपर्ने बताए ।

उनले संविधान मिचेका ओलीले चुनाव गराउँछ भनेर पत्याउँछ भने त्यसलाई रामराम मात्र भन्न सकिने बताए । ‘संविधान मिच्ने ओलीले निर्वाचन गराउँछन् भनेर पत्याउनेलाई रामराम मात्र भन्न सकिन्छ। नेकपाले जनताको मतको अवमूल्यन गरेको छ,’ उनले भने, ‘मै कानून हुँ, मै संविधान हुँ भन्ने ओलीको एक दिन राजा ज्ञानेन्द्रको झै हालत हुनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *