विराटनगरमा पाँच करोड लागतमा ‘स्पोर्टस् एकेडेमी’ सञ्चालन गरिने

मोरङ । कोशी प्रदेशको राजधानी विराटनगरमा–३ युवालाई खेलकुदप्रति आकर्षित गर्न देशकै ठूलो क्रिकेट एकेडेमी सञ्चालनमा आउने भएको छ ।

विराट स्पोर्टस् जोनले यही मङ्सिर २७ देखि एकेडेमी सञ्चालनमा ल्याउन लागेको आज आयोजित पत्रकार सम्मेलनमा सञ्चालक समितिका अध्यक्ष हरि बजगाईंले जानकारी दिए। प्रदेशमा आधुनिक खेलकुद पूर्वाधारको विकास गर्ने लक्ष्यसहित रु पाँच करोड लगानीमा एकेडेमी सञ्चालनमा ल्याउन लागिएको हो ।

वर्षभरि क्रिकेट प्रशिक्षण सञ्चालन गर्ने तयारीसहित एकेडेमी सञ्चालनको तयारी गरिएको अध्यक्ष बजगाईंले बताए । विराटनगर–३ दुधफारम पूर्व ३० कठ्ठा क्षेत्रफलमा तयार गरिएको स्पोर्टस् जोनमा सात किसिमका खेलकुदका गतिविधि सञ्चालन हुने जनाइएको छ । जसमा फुटसल, क्रिकसल, स्केटिङ, गो–कार्ट, ब्याडमिन्टन, पिकल बल र टेवल टेनिस हुने स्पोर्टस् जोनका सचिव नवराज काफ्लेले जानकारी दिए ।

स्पोट्र्स जोनमा क्रिकेट एकाडेमीसँगै गो–कार्ट आकर्षकको केन्द्र रहेको छ । यसअघि गो–कार्ट काठमाडौँ र पोखरामा मात्र सञ्चालनमा रहेको थियो । अध्यक्ष बजगाईं, सचिव काफ्लेसहित सात जनाको लगानीमा स्पोर्टस् जोन तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *