तोडियो बेलडाँगी–दैजी सडकखण्डको ठेक्का

काठमाडौँ । हुलाकी राजमार्ग अन्तर्गत कञ्चनपुरको मोहना नदी–डोकेबजार–बेलौरी–बेलडाँगी–दैजी सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ ।

सडक विभाग अन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय धनगढीले बिहीबार बाबा हन्स—सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौँसँग भएको ठेक्का सम्झौता अन्त्य गरेको सार्वजनिक सूचना जारी गरेको हो ।

आर्थिक वर्ष २०७३/७४ मा सडक स्तरोन्नतिका लागि यो ठेक्का सम्झौता भएको थियो। करिब २० किलोमिटर लामो यो सडकमध्ये ५ किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी थियो र निर्माण प्रगति लगभग ८२ प्रतिशत पुगेको थियो ।

योजना कार्यालय धनगढीका अनुसार पटकपटक ताकेता गर्दा पनि काम नगरेको, प्रतिबद्धता अनुसार काम अगाडि नबढाएको र साइट ठप्प बनाएका कारण ठेक्का तोडिएको हो। ठेक्का सम्झौता रद्द गरिएपछि निर्माण व्यवसायीको कार्य सम्पादन जमानत जफत गरिनेछ ।

यसअघि, गत कार्तिक १४ गते योजना कार्यालय धनगढीले ठेक्का किन नतोड्ने भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *