झापाबाट अनेरास्ववियुको मेची–महाकाली विद्यार्थी जागरण यात्रा शुरू

विर्तामोड । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले मेची–महाकाली विद्यार्थी जागरण यात्रा थालेको छ ।

झापाबाट संगठनका केन्द्रीय अध्यक्ष दीपक धामीले बुधबार अनेरास्ववियुको झण्डा विद्यार्थीहरूलाई हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गरे । अभियानमा प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

कार्यक्रममा अनेरास्ववियु कोशी प्रदेशले पुरस्कार वितरण गरेको छ । ‘लागुऔषध मुक्त समाजः हाम्रो अभियान’विषयक अनलाइन वक्तृत्वत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको हो ।

कार्यक्रममा अध्यक्ष धामीले अनेरास्ववियुका विद्यार्थीहरूको काँधमा देश बचाउने जिम्मेवारी आएको बताए ।
उनले देशभित्र एकता भाँड्नेहरू विरुद्ध प्रतिकारमा उत्रिनुपर्ने अवस्था आएको बताए । युवालाई आन्दोलनका नाममा देश जलाउने काममा दुरुपयोग गरेको भन्दै धामीले अनेरास्ववियुमा आवद्ध विद्यार्थी देशको रक्षार्थ सधैं अग्रभागमा उभिने बताए ।

युवा विद्यार्थीहरूलाई अराजकताविरुद्ध सचेत रहन आग्रह गर्दै अध्यक्ष धामीले अनेरास्ववियुले देशमा आगो लगाउनेहरूका पक्षमा ताली बजाउन नसक्ने उद्घोष गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *