विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डसँग ‘मर्निङ वाक’ गर्न चुनौती दिएका छन् ।
सोमबार पार्टीले विराटनगरमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै रावलले ओलीप्रति कटाक्ष गरेका हुन् ।
ओलीले नेकपालाई ‘बुढाहरुको पाटी’ भनेपछि रावलले यस्तो बताएका हुन् । उनले भने, ‘ओलीजीले नेपाली कम्युनिष्ट पार्टीलाई बुढाहरुको पार्टी भन्नुभयो । म चुनौती दिन्छु, नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डसँग मर्निङ वाक गरेर देखाउनुस्।’
उनले ओली गैरजिम्मेवार बन्दा भदौ २३ र २४ गतेको आन्दोलन भएको बताए । उनले भने, ‘युवाहरुले सामाजिक संजाल फुकुवाको कुरा गर्दा उहाँले बालुवाटारबाट दमनको कुरा गरिरहनुभयो । जब बालुवाटारमा युवाहरू प्रवेश गरे, उहाँ हेलिकप्टरबाट भागेर बेपत्ता हुनुभयो । उहाँलाई न देशको सुरक्षाको चिन्ता भयो, न जनताको ।’
उनले वर्तमान सरकारले दीर्घकालीन असर गर्ने काम नगर्न आग्रह गरे । उनलेव भने, ‘दीर्घकालीन असर गर्ने गरी जलविद्युत् व्यापार सम्झौता भएको छ, अर्थ मन्त्रालयमा ठूलो चलखेल भएको छ । सरकारलाई सचेत गराउन चाहन्छु । निर्वाचनका लागि बनेको सरकारले दीर्घकालीन असर गर्ने काम नगर्नू ।’
