जी–२० सम्मेलनमा समसामयिक भूराजनीतिक मुद्दामा विभाजन

जोहानेसबर्ग । भूराजनीतिक विभाजन र प्रतिस्पर्धाले विश्वको आर्थिक सङ्कटलाई समाधान गर्न जी–२० को भूमिकामा प्रश्नचिन्ह खडा भएको शिखर सम्मेलनमा नेताहरूले चेतावनी दिएका छन् ।

संयुक्त राज्य अमेरिकाले बहिष्कार गरेको सम्मेलनका अवसरमा अमेरिकाले युक्रेनमा युद्ध अन्त्य गर्न सारेको प्रस्तावले नेताहरूबीच छलफलसमेत भएको छ।

अफ्रिकामा पहिलो पटक आयोजित जी–२० शिखर सम्मेलनमा भाग लिने युरोपेली नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्न अघि सारेको एकपक्षीय योजनाको प्रतिक्रियाका लागि पनि सम्मेलनका अवसरमा छलफल गरेका थिए ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले शिखर सम्मेलनको सुरुमै सहकर्मी नेताहरूलाई चेतावनी दिँदै भनेका छन्, “हामी यस टेबलमा ठूला सङ्कटहरू सँगै समाधान गर्न सङ्घर्ष गरिरहेका छौँ र जी– २० एक चक्रको अन्त्यमा पुग्न सक्छ।”

“यसमा कुनै शङ्का छैन, अगाडिको बाटो कठिन छ”, बेलायती प्रधानमन्त्री केइर स्टार्मरले म्याक्रोँको भनाइप्रति सहमति जनाउँदै भने । “हामीले आज फेरि विश्व चुनौतीहरूको सामना गर्दै रचनात्मक भूमिका खेल्ने तरिकाहरू खोज्नु आवश्यक छ।”

चिनियाँ प्रधानमन्त्री ली चियाङले भनेका छन्, “एकपक्षीयतावाद र संरक्षणवाद व्याप्त छ र धेरै मानिस विश्वव्यापी ऐक्यबद्धतामा के भइरहेको छ भनेर सोचिरहेका छन्।”

शिखर सम्मेलनका आयोजक दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ट्रम्पको अनुपस्थितिलाई बेवास्ता गर्दै जी–२० अन्तर्राष्ट्रिय सहयोगका लागि महत्वपूर्ण रहेको तर्क गर्नुभयो ।

“जी–२० ले बहुपक्षीयवादको सान्दर्भिकतालाई जोड दिएको छ । यसले हामीले सामना गरिरहेका चुनौतीहरू सहयोग, सहकार्य र साझेदारीको माध्यमबाट मात्र समाधान गर्न सकिन्छ भन्ने मान्यता दिन्छ,” रामाफोसाले भने ।

जी–२० मा युरोपेली सङ्घ र अफ्रिकी सङ्घसहित १९ देश छन् र विश्वको कुल गार्हस्थ्य उत्पादनको ८५ प्रतिशत र दुई तिहाइ जनसङ्ख्याले ओगटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *