वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिवंगत यौन अपराधी जेफ्री एप्स्टिनसम्बन्धी सबै फाइल सार्वजनिक गर्न न्याय विभागलाई बाध्य पार्ने विधेयकमा हस्ताक्षर गरेका छन् । विधेयकले न्याय विभागलाई ३० दिनभित्र एप्स्टिन सम्बन्धी सबै अनुसन्धान सामग्री ‘सर्चयोग्य र डाउनलोडयोग्य’ स्वरूपमा सार्वजनिक गर्न आदेश दिन्छ ।
पहिले फाइल सार्वजनिक गर्ने विरोधमा रहेका ट्रम्पले पीडितहरू तथा आफ्नै पार्टीभित्रको चर्को दबाबपछि गत हप्तादेखि आफ्नो धारणा उल्टाएका थिए । उनको समर्थनपछि दुबै सदनले मंगलबार उक्त विधेयक भारी मतसहित पारित गरेका थिए ।
ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले डेमोक्रेटहरूलाई आफ्नो प्रशासनका उपलब्धिबाट ध्यान हटाउने उद्देश्यले मुद्दालाई राजनीतिकरण गरेको आरोप लगाए। ‘डेमोक्रेटहरूको एप्स्टिनसँगको सम्बन्ध अब खुलेर आउनेछ, किनकि म एप्स्टिन फाइल सार्वजनिक गर्ने विधेयकमा हस्ताक्षर गरिसकेको छु,’ उनले लेखेका छन् ।
कानूनी रुपमा फाइल सार्वजनिक गर्न राष्ट्रपतिले एक्लै आदेश दिन सक्थे, तर प्रतिनिधि सभाले ४२७–१ मतले विधेयक पारित गर्यो। सिनेटले पनि सर्वसम्मत सहमति दिएपछि विधेयक हस्ताक्षरका लागि ह्वाइट हाउस पुगेको थियो ।
सार्वजनिक हुन लागेको फाइलमा एप्स्टिनविरुद्धका आपराधिक अनुसन्धानका कागजात, पीडित–साक्षीका बयान, छापामारीबाट बरामद सामग्री, आन्तरिक संचार, उडान अभिलेख तथा एप्स्टिनसँग सम्बन्धित व्यक्ति–संस्थाहरूका विवरण समावेश छन्।
यी फाइलहरू गत हप्तामा कांग्रेसले एप्स्टिनको सम्पत्तिबाट खोलेका २० हजारभन्दा बढी पृष्ठका कागजातहरूभन्दा छुट्टै हुन्, जसमा केहीमा ट्रम्पसमेत उल्लेख गरिएको छ।
ट्रम्पसँग वर्षौंको चिनजान रहे पनि उनले एप्स्टिनसँग २००० को दशकको सुरुतिर सम्बन्ध विच्छेद भएको दाबी गर्दै आएका छन् । उनले एप्स्टिनसम्बन्धी कुनै पनि दुराचारमा संलग्नता नकार्ने क्रम जारी राखेका छन्।
