काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो बाराको सिमरा विमानस्थलमा भएको घटनाप्रति दुःख व्यक्त गरेकी छन् ।
बुधबार राति सामाजिक संजालमार्फत प्रधानमन्त्रीले बाराको सिमरामा देखिएको तनाव र हिंसा अत्यन्तै दुःखद भन्दै यस्तो अराजकता स्वीकार्य नहुने चेतावनी दिएकी हुन् ।
उनले भनेकी छन्, ‘म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन। युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ। अभिव्यक्ति स्वतन्त्रताको सम्मान हाम्रो प्रतिबद्धता हो। तर यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट होइन।’
उनले अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न अपील समेत गरेकी छन् ।
उनले भनेकी छन्, ‘मैले गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति तथा सुव्यवस्था कायम गर्न, सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचनको निष्पक्ष तथा भयमुक्त वातावरण बनाउन उच्च संयम र पूर्ण तयारीका साथ काम गर्न निर्देशन दिएको छु । लोकतान्त्रिक प्रणालीको माध्यमबाट मात्रै युवाहरूको वास्तविक अपेक्षा पूरा गर्न सकिन्छ। त्यसैले म सबै पक्षलाई अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न हार्दिक अपील गर्दछु।’
बुधबार पार्टीको कार्यक्रममा भाग लिन बारा जाने क्रममा सिमरा विमानस्थलमा जेनजी समूहले अवरोध गरेका थिए । त्यसक्रममा जेनजी समूह, एमाले कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो । त्यसपछि सिमरा विमानस्थल बन्द गरिएको थियो भने स्थानीय प्रशासनले सिमरा क्षेत्रमा कफ्र्यु आदेश जारी गर्नुपरेको थियो ।
