-हितेन्द्रदेव शाक्य ।
मैले के बिराएँ ? मैले त सिर्फ चाहेको थिएँ फगत एउटा बिशे नगर्ची बन्न, महत्वाकांक्षा केही हैन फगत एउटा सानो सपना चालिसै वर्षदेखिको एउटा सपना, आत्मनिर्भरताको नेपाली भएर । सिर्फ आत्मनिर्भरता । यति मात्र सपना, सन्तानको टाउकोमा हात राखेर फेरि पनि भन्छु खोजेको सिर्फ आत्मनिर्भरता । महत्वाकांक्षा देखियो होला, केही मूल्य र वसुलमा सम्झौता गरें हुँला तर त्यो जे गरें मेरो कर्मक्षेत्रमा आत्मनिर्भरता नेपालीमात्रको आत्मनिर्भरताको लागि । सिर्फ त्यसैको लागि सम्झौता गरें ।
खून पसिना बगाएँ, पुरूषार्थ गरें, कुलेखानीमा गरें, मस्र्याङ्दीमा गरें, चिलिमेमा गरें जहिले जे गरें, कर्मक्षेत्रमा नेपालीमात्रको आत्मनिर्भरताको लागि गरें । गमगाढमा गरें, एलडिसीमा गरें, योजनामा गरें, इन्जिनियरिङमा गरें, विद्युत प्राधिकरणमा गरें, जहाँ जहिले गरें नेपालीमात्रको आत्मनिर्भरताको लागि गरें । आत्मनिर्भरताको यति सपना देखें त, मैले के बिराएँ ।
धेरै हैन, खाली एक बिशे नगर्ची भएर यति सपना देखें त, मैले के बिराएँ ? पिरोल्ने भो मलाइ अब पर्यन्त, मैलाई सोधिरहने यो प्रश्न— मैले के बिराएँ ? किन बनाउँछ कोही कसैलाई सालो केटो अनि बलि चढाउँछ ? कसैलाई सालो केटो पनि नबनाउनु अनि कसैलाइ कालो केटो पनि नबनाउनु । मेरो थर मिल्यो बस बनि गयो सालो केटो ? भोलि कोही अर्को त्यसैगरी कालो केटो होला अनि । भो यो नेपालीमात्र हार्ने खेल नखेलोस् कसैले । मैले खोजेको थिएँ बन्न, एउटा सालो केटो हैन, सिर्फ एक बिशे नगर्ची भएर नेपालीमात्रको आत्मनिर्भरताको लागि लड्न ।
कुनै महत्वाकांक्षाको लागि हैन, त्यो महत्वाकांक्षा यदि देखिएको थियो भने त्यो सिर्फ नेपालीमात्रको आत्मनिर्भरताको लागि लड्न एउटा साधन थियो, साध्य हैन । त्यसैले अझै पनि मलाई भीम मल्ल बन्नु छैन सिर्फ बिशे नगर्ची बन्न चाहन्छु कोही पृथ्वी नारायण बनेर आओस् । नेपालीको सीप र स्रोतमा आत्मनिर्भरता, प्रविधि र उर्जामा आत्मनिर्भरता । परनिर्भरताको जुठो मसीनोले पेट भरिन्न बुझुन् सबैले, आत्मनिर्भरताको रूखो सुखो ढिंडो धेरै बेस छ। नेपालीको सीप र स्रोतमा आत्मनिर्भरता, प्रविधि र उर्जामा आत्मनिर्भरता ।
त्यसैले फेरि पनि भन्छु, म बिशे नगर्ची बन्न चाहन्छु कोही पृथ्वी नारायण बनेर आओस् । भो, मलाई भीम मल्ल बन्नु छैन, किनकी म चाहन्न कसैले सरापोस् मेरो देशलाई । तरै पनि पटकै पिच्छे सम्झन्छु, फेरि थरीथरी, हरेक पटक मुटु चरक्क चर्किन्छ । के गर्नु, मुटु मेरो पनि सानै रहेछ । म राजनीतिक नेता हैन, र त सकिनँ बिर्सेर अघि बढ्न, आफ्नै घर–सन्तानको खरानी हातमा लिएर । मुटु त मेरो पो सानो रहेछ । तर पनि म भन्छु, म बिशे नगर्ची बन्न चाहन्छु कोही आत्मनिर्भरताको पृथ्वी नारायण बनेर आओस् ।
हितेन्द्रदेवको जलेको घरको भग्नावशेष




