जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन

काठमाडौँ । जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि आयोजित ‘टोकियो सप्ताह’ सम्पन्न भएको छ ।

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको आयोजना र जापानमा रहेका विभिन्न सङ्घसंस्थाको सहकार्यमा जापानमा ‘एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र’ (नेपाल हाउस) निर्माणका लागि नोभेम्बर ८ देखि सुरु भएको टोकियो सप्ताह सम्पन्न भएको हो ।

जापानको टोकियोस्थित शिन्ज्युकुमा आयोजित सप्ताहमा वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेल र बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले कथा वाचन गरेका थिए । एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेले जापानमा आठ दिनसम्म चलेको सप्ताहमा झण्डै रु ११ करोड नगद सङ्कलन भएको जानकारी दिए । हालसम्म रु १० करोड ५० लाख नगद सङ्कलन भइसकेको र बाकसमा दान गरेको भेटीलाई गन्ने काम भइरहेको उनको भनाइ छ ।

जापानमा रहेका नेपालीबीचको एकता, भाइचारा र एक अर्का पुस्ताबीचको पारस्परिक सम्बन्धलाई थप मजबुत बनाउनका लागि निर्माण गर्न लागिएको ‘नेपाल हाउस’ निर्माणका लागि आयोजित सप्ताहमा नेपालीहरुको उल्लेख्य सहभागिता रहेको अध्यक्ष लामिछानेले बताए ।

जापानमा बन्न लागेको नेपाल हाउसभित्र नेपालको संस्कृति झल्काउने घर, विभिन्न जातजातिको संस्कृति तथा वेषभूषा, पशुपतिनाथ, बौद्ध, स्वयम्भूलगायत मन्दिर, नेपालका परम्परागत कृषि औजारहरु, विवाह ब्रतबन्ध गर्न मिल्ने ठाउँहरु निर्माण हुनेछन् ।

आठ दिनसम्म सञ्चालन भएको सप्ताहमा जापानमा रहेका झण्डै २५ हजार नेपालीको सहभागिता रहेको अध्यक्ष लामिछानेले बताए । एनआरएनए जापानका पूर्वअध्यक्ष नवीन निउरेले जापानमा एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र निर्माणका लागि टोकियोको चिवा केनमा यसअघि नै जमिन खरिद भइसकेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *