सुनसरी । धरानमा अर्थोडोन्टिकसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ओडान (अर्थोडोन्टिक एण्ड डेन्टोफेसियल अर्थोपेडिक एसोसिएशन अफ नेपाल) र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको संयुक्त आयोजनामा गत शुक्रबारदेखि सुरु भएको सम्मेलन आज सम्पन्न भएको हो ।
धरानमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा ११ जना भारतीय र ९० जना नेपाली चिकित्सकको सहभागिता थियो । सम्मेलन आयोजक समितिका अध्यक्ष तथा प्रतिष्ठानका सह प्राध्यापक डा. प्रभात रञ्जन पोख्रेलले जानकारी दिए।
सम्मेलनमा विज्ञहरूले अर्थोडोन्टिक तथा डेन्टोफेसियल अर्थोपेडिक्ससम्बन्धी नयाँ प्रविधि, अनुसन्धान र अनुभवबारे कार्यपत्र र प्रस्तुति दिएका थिए । शुक्रबार भएको कार्यशालामा चिकित्सकले आफ्ना व्यावहारिक अनुभव प्रस्तुत गरेको थियो भने आज शनिबार ११ वटा शोधपत्र प्रस्तुत गरिएको थियो ।
सम्मेलनमा क्लियर अलाइनर्स, सेल्फ लिगेटिङ ब्र्याकेट्स, टेम्पररी एंकरिज डिभाइस र डिजिटल ट्रिटमेन्ट योजनालगायत प्रविधि समावेश गरिएको थियो । विशेष गरी भारतमा सामान्यतया प्रयोगमा नआएका सामग्री र बांगा दाँत मिलाउने नयाँ प्रविधि पनि सम्मेलनमा प्रस्तुत गरिएको थियो । भारतीय विशेषज्ञ प्रा. डा. अभिषेक घोस, प्रा. डा. अभिषेक गुप्ता र डा. अभिराम चेरुकुरीले विशेष प्रस्तुति दिएका थिए ।
डा. पोख्रेलका अनुसार, अर्थोडोन्टिक चिकित्सा दाँत र जबडाको असमान्य स्थिति सुधार गरी अनुहारको सौन्दर्य, दाँतको स्वास्थ्य र चपाइको क्षमता सुधारमा सहयोग पुग्ने भएकाले नेपालमा यस्ता नयाँ प्रविधि र उपचार विधि छिटो भित्र्याउन यस्ता सम्मेलन उपयोगी रहेको बताए ।
त्यस अवसरमा प्रा. डा. रवीन्द्रमान श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. विक्रम श्रेष्ठलगायत दुई देशका चिकित्सकको उपस्थिति थियो ।
