संखुवासभा। अरुण तेस्रो आयोजनाको टिपरको ठक्करबाट मृत्यु भएका खड्गबहादुर राईका आफन्तले क्षतिपूर्ति माग राख्दै शव उठाएका छैनन्। शुक्रबार बिहान साढे ९ बजे संखुवासभाको मकालु गाउँपालिका –५ फ्याक्सिन्दा बेसीमा टिपरको ठक्करबाट राईको मृत्यु भएको हो।
मृतक राईका आफन्तले घाइतेको उपचार, बालबच्चाको सम्पूर्ण पढाइ खर्च बेहोर्ने माग गर्दै जलविद्युत् आयोजनाको काम ठप्प पारेका छन्। टिपरको ठक्करबाट मकालु– ३ हेदाङ्नाका ४२ वर्षीष खड्ग बहादुर राईको घटना स्थलमा नै मृत्यु भए पछि स्थानीय आन्दोलित भएका हुन्।
भारतको बिहार प्रदेशको ७६१० नम्बरको टिपरले को २३ प ४८१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले जानकारी दिए।
टिपरको ठक्करबाट गम्भीर घाइते भएकी राईकी श्रीमती प्रेमकुमारीको उपचारका लागि हेलिकप्टरमार्फत काठमाडाैं लगिएको छ। प्रहरीले टिपर चालक काभ्रे नमोबुद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाई र टिपरलाई नियन्त्रणमा लिएको जनाएको छ।
मृतक राई राजारानी आधारभूत विद्यालय मकालु–३ कार्यालय सहयोगी र गम्भीर घाइते प्रेमकुमारी सोही विद्यालयकी बाल शिक्षिका हुन्। उनीहरु गाउँपालिका केन्द्रमा नुममा सञ्चालन भइरहेको तालिममा सहभागी हुन आउँदै थिए।
टिपर पछाडी फर्कने क्रममा मोटरसाइकललाई ठक्कर दिएको र ठक्कर दिएको थाहा पाएपछि पुन टिपरले पेलेर राईको मृत्यु भएको भन्दै स्थानीय आन्दोलित भएका हुन्।
आन्दोलित पीडितका आफन्तले एउटा भारतीय नम्बर प्लेटको गाडी, टिपर र जयप्रकाश एसोसिएट कम्पनीको कार्यालयमा तोडफोड र आजगजनी गरेको जिल्ला प्रहरी कार्यालय जनाएको छ।
