काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१७ घर भई उक्त होस्टलमा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकी रहेका छन्। प्रहरीका अनुसार कालाथोकीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र करिब २० वर्षीय प्रमित पटेलले कुटपिट गर्नुका साथै धारिलो हतियार प्रहार गरेका थिए ।
घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो । टाउको र घाँटीमा चोट लागेका उनको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनामा संलग्न रहेको आरोपमा शेखर यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। फरार रहेका प्रमित पटेलको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
