वीर अस्पतालमा १० वटा भाइरसको परीक्षण

काठमाडौं ।  वीर अस्पतालमा श्वासप्रश्वाससम्बन्धी १० वटा विभिन्न रोगका भाइरसको एकैपटक परीक्षण शुरू गरिएको छ ।

अस्पतालको मेडिकल जेनेटिक्स (अनुवाङ्शिक) प्रयोगशालामा श्वासप्रश्वाससम्बन्धी १० प्रकारका रोगको भाइरसको एकैपटक एकै समयमा परीक्षण शुरू गरिएको अस्पतालका मेडिकल अनुवाङ्शिक विभागका प्रमुख डा. निलम ठाकुरले जानकारी दिइन् ।

उनले बिरामीको एउटा रोगको भाइरसको फरक–फरक परीक्षण गर्दा रोग पत्ता लगाउन समस्या भएकाले एकै पटक १० वटा रोगका भाइरसको परीक्षण गर्न थालिएको बताइन् ।

‘पहिले ती १० वटा रोगका भाइरसको फरक–फरक समयमा परीक्षण गर्ने गरेका थियौं, तर अहिले एकैपटक एकै समयमा परीक्षण गर्दा खर्च पनि कम लाग्दछ,’ उनले भनिन्, ‘कुन भाइरसका कारणले कुन रोग लागेको हो भन्ने कुरा पनि पत्ता लाग्दछ, धेरै पटक परीक्षण आवश्यक पर्दैन ।’

भाइरसले रोग पत्ता लगाएपछि अस्पतालमा नै उपचार गरिने उनले बताइन् । यस्तै, प्रयोगशालामा मस्तिष्क सङ्क्रमण सम्बन्धी छ वटा भाइरसको पनि एकै पटक परीक्षण शुरू गरिएको विभागका प्रमुख डा ठाकुरले जानकारी दिइन् । प्रयोगशालामा फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोगको पनि परीक्षण गरिन्छ ।

विसं २०७३ मा अनुवाङ्शिक (जेनेटिक) रोगको पहिचान र उपचार गर्न स्थापना गरिएको प्रयोगशालामा जनशक्ति तथा उपकरण अभावले रोगको परीक्षण नियमित हुन सकेको छैन । जिन (वङ्श)मा भएको अवस्थाले जन्मिने रोगलाई अनुवांशिक रोग भनिन्छ ।

‘सरकारी रूपमा अनुवाङ्शिक रोगको पत्ता लगाउने यही नै प्रयोगशाला रहेको छ,’ उनले भनिन्, ‘तर, हामीसँग तीन जना मात्र जनशक्ति भएको र उपकरण पनि प्रयाप्त मात्रामा नभएका कारणले दैनिक रोगको परीक्षण गर्न सकिरहेका छैनौं ।’

उनका अनुसार एक दिन बिराएर पालोअनुसार रोगहरूको परीक्षण गर्ने गरिएको छ । अहिले प्रयोगशालामा २५ वटा अनुवाङ्शिक रोगका भाइरसको नियमित परीक्षण गर्ने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *