सुदूरपश्चिममा नेकपा एमालेको पहिलो पुस्ता अब हामीसँग रहेन

कर्णबहादुर थापा ।
सुदूरपश्चिममा नेकपा एमालेको पहिलो पुस्ता अब हामीसँग रहेन । पछिल्लो पुस्ताको ठूलो हिस्सा जोडिएको छैन, जोड्न कोही लागिपरेको पनि देखिएको छैन। बरू भइरहेकाहरूलाई खेद्न एउटा पंक्तिको रहष्यमय सकृयता रहेकैछ । दशकौं पार्टी काममा सहयोद्वाका रूपमा काम गरेका कमरेडहरू पार्टीबाट बाहिरिँदा मन चसक्क हुँदोरहेछ । पार्टी भित्र रहँदा मतभिन्नता र आन्तरिक संघर्ष हुन्छ । अलिअलि मन मुटाव पनि स्वभाविकै हुन्छ । तर नियोजित रूपमा पार्टीमा बस्न नदिने व्यवहार कुनै दृष्टिकोणले पनि उचित हुन सक्दैन । अनेक समयमा पार्टीबाट बाहिरिने साथीहरूको म संग कुनै गुनासो छ भने त्यसका लागि म क्षमा माग्न चहान्छु, यस प्रदेशको एक अगुवाका हैसियतले ।

निकै प्रतिकुल समयमा महत्त्वपूर्ण योगदान गरेका कमरेडहरू सहज परिस्थितिमा एकताबद्ध भएर देशको संकट टार्न लाग्नुपर्ने थियो । हामी भित्र हुर्केको अराजनीतिक सोचले हामीलाई एक ठाउँमा रहन दिएन । भोलिका दिन अझै कठिन हुनेछन् । अरूको अवसानमा आफ्नो भविष्य देख्ने परपीडक सोचले सबैलाई खरानी बनाउनेछ ।

१६/१७ वर्षको कलिलो उमेरमै राजनीतिक काममा हाम फालियो । थुप्रै चुनौतीको सामना गरियो, लडाइँ लडियो । हारको पीडा पनि भोगियो, विजयको उत्सव पनि मनाइयो । देश, दुनियाँ देखियो, भोगियो तर यस पटकको जस्तो अभिमान र प्रतिस्ठाको लडाइँले उत्पन्न गरेको आगोले जलेको देश कहिल्यै देखेको थिइनँ ।
जो जहाँ हुनुहुन्छ सत्यको पक्षमा रहनु होला । देश, जनता र क्रान्ति लाई धोखा नदिनु होला । आफ्नो स्वार्थको लागि लक्ष्य नभुल्नुहोला । सबैलाई एक बनाउने र सकेको सहयोग गर्ने मेरो संकल्पबाट म कहिल्यै पछि हट्ने छैन । एमालेका यस प्रदेशका सबै नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई यथार्थको जगमा उभिएर दृढताका साथ पार्टीमा सकृय रहन अपील गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *