काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रहरी वृत्त महाराजगंजको भवनमा आगजनी, लुटपाट तथा प्रहरी कर्मचारीको आक्रमणमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले त्यस घटनामा संलग्न भोजपुरको दोभान गाउँपालिका २ घर भइ हाल काठमाडौं बस्ने ३६ वर्षका इन्द्रबहादुर राईलाई कात्तिक २२ गते सामाखुसी चोकबाट पक्राउ गरेको परिसरले जनाएको छ ।
उनको कोठा खानतलासी गर्दा प्रहरीको लुटिएको पेस्तोल, म्याग्जिन, ७ राउण्ड गोली र प्रहरीको कपडा बरामद भएको छ । उनलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।
उनीविरुद्ध प्रहरी वृत्त महाराजगंजबाट ज्यान सम्बन्धी कसूरमा मुद्दा चलेको समेत देखिएको परिसरका सूचना अधिकारी पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।
