आर्मीलाई हराउँदै एपीएफ झापा गोल्डकपको फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब झापामा जारी झापा महिला गोल्डकप-२०८२ को फाइनलमा पुगेको छ । शनिबार दिउँसो भएको रोमाञ्चक फाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी फूटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले हराउँदै एपीएफ फाइनलमा पुगेको हो ।

झापाको दुधे रंगशालामा भएको खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा एपीएफकी गोलरक्षक अन्जना राना मगरले दुई पेनाल्टी रोक्दै टोलीलाई जित दिलाएकी हुन् । एपीएफको लागि सविता राना मगर, रश्मी कुमारी घिसिङ, निशा थोकर र अनिता बस्नेतले गोल गरे ।

यसअघि खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा आर्मी पराजित हुन पुगेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औँ मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै आर्मीलाई शुरुवाती अग्रता दिलाएकी थिइन् । यस्तै दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा कप्तान अनिता बस्नेतले फ्रि-किकमा गोल गर्दै एपीएफलाई १-१ गोलको बराबरीमा ल्याएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

अब एपीएफले सोमबार हुने फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिसले शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा संकटा क्लबलाई २-० गोलले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *