पार्टी बनाउन नसकेपछि माधव नेपाल झोला बोकेर प्रचण्डकहाँ पुग्नुपर्योः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान विपरीत प्रतिनिधिसभा विघटन गरेकाले आफूहरूले त्यसको पुनःस्थापनाको माग गरेर अघि बढ्नुपरेको बताएका छन् ।

बिहीबार भक्तपुरको गुण्डुमा पार्टीको गीत विमोचन कार्यक्रममा अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने बताए । उनले कुनै हैसियत नै नभएको सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको आरोप लगाए ।

उनले भने, ‘सिफारिस गर्ने हैसियतनै नभएकाहरूले सिफारिस गरेको छ । र संविधानको धारा कुनै केही नभएको ठाउँमा राष्ट्रपतिज्यूले भङ्ग गर्नु भएको छ । गर्नु हुँदैनथ्यो ।’

फरक प्रसंगमा अध्यक्ष ओलीले माधव नेपाल पार्टी बनाउन नसकेर झोला बोकेर प्रचण्डकहाँ पुगेको टिप्पणी गरे । उनले भने, ‘माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमसहित धेरै जानुभएको थियो नि पार्टी बनाउँछु भनेर । तर अहिले माधव नेपाल झोला बोकेर प्रचण्डकहाँ पुग्नुभयो।’

अध्यक्ष ओलीले झलनाथ खनालसँगको भेटमा आफूले सिद्धान्त भन्दा पदको कुरा गर्न भनेको बताए । अध्यक्ष ओलीले पार्टीभित्र एकता, आत्मसम्मान र सहकार्यको आवश्यकता औंल्याए ।

ओलीले पार्टीभित्र आत्मसम्मान र सहकर्मीबीचको सहयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले भने, ‘पार्टीमा लाग्ने मान्छे अपमानित हुन, गाली खान वा हप्कीधप्की सहनका लागि लाग्दैन । आत्मसम्मानकै लागि लाग्छ । पार्टीमा साथीको भावना हुनुपर्छ । एकअर्कामा माया गर्ने, अप्ठ्यारा अवस्थामा सहयोग गर्ने र विचार तथा उद्देश्यका आधारमा एकता सुदृढ बनाउने गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *