-डा. युवराज संग्रौला ।
राष्ट्रको निर्माण गर्न इतिहासमा धेरैले कठोर मेहनत गरेका छन्, आफ्नो समयको माग अनुसार । राजा यलम्बरले ‘गणसमूह’ का रुपमा रहेका गोपाला र महिसपालाहरुको शासनपछि, एउटा व्यवस्थित राज्य व्यवस्था निर्माण गरे । उनले जमिनको व्यवस्थापनसहित खेतीको व्यवस्थाद्वारा डुलिहिँड्ने ‘फिरन्ते जीवन प्रणालीलाई स्थायी बसोवास गर्ने नागरिक समाज प्रणालीमा बदले । कुथेर, माप्चोक, लिंगबाल जस्ता अदालत, करप्रणाली, सैन्य जस्ता संस्था मिर्माण गरि नेपाललाई एउटा ‘परिभाषित राज्य व्यवस्थामा ढाले।’ तसर्थ उनी प्राचीन नेपालका एक महान राजा हुन् । प्राचीन नेपालका निर्माता हुन् ।
लिच्छवीकालीन इतिहासका अध्यता जगदीशचन्द्र रेग्मीले ‘मानदेवले कसरी नेपालको एकीकरण गरे भन्ने सूक्ष्म ढंगले विवरण तयार गरेका छन् ।’ मानदेव पनि प्राचीन नेपालका एक निर्माता नै हुन् । वृशदेवले मगधको अतिक्रमण समाप्त गरे। मल्लपुरीका अशुंबर्माले काठमाडौं आइ अहिर गुप्तहरुले नेपालमा अधीन जमाएको अवस्थालाई समाप्त गरि नेपाललाई पुनःहस्तक्षेपविहीन बनाए । नरेन्द्र देवले केरुङ्ग, काठमाडौं हुँदै मगध जाने ‘प्राचीन शिल्क रोडको शाखाको संरक्षण गरि नेपाललाई धनी बनाए र चीनसँग औपचारिक सम्बन्धको स्थापना गरे। यही समयबाट नेपालले कागज उत्पादन गर्न सिक्यो र आजसम्म नेपाली कागज चलिरहेको छ ।
यसको केही समयपछि नेपालको केन्द्रीय सत्ता कमजोर भयो । परिणाम स्वरुप किराँत, बैसालीका लिच्छवी, वैदेहका मैथिल, काठमाडौंका नेवार, तराईका थारु, मध्यपश्चिमका मगर, र पश्चिमका माल्ल र खसहरुका ६ वटा सभ्यता बाहक हिमवतखन्डको प्रतिनिधित्व गर्ने नेपाल अनेक राज्यमा टुक्रियो । आधुनिककालको सुरुवाततिरै भारतमा व्यापारका नाममा बन्दुक लिएर आएका व्रिटिस अतिक्रमणकारीले भारतका मूर्ख रजौटाको लोभ र बिलासको फाइदा उठाइ उपनिवेशवाद लादे । व्रिटिस इस्ट ईन्डिया कम्पनीले भारतमा व्रिटिस साम्राज्य खडा गर्यो । यसको प्रतिवाद गर्दै राजा पृथ्वीनारायण शाहले विश्वमै उपनिवेशवादका विरुद्धमा पहिलो आन्दोलनको प्रतिनिधित्व गर्ने ‘नेपालको एकीकरणको अभियान शुरु गरे। नेपालले व्रिटिस घुँडा टेकेन र आफ्नो भूमिको ठूला हिस्सा गुमेपनि नेपाल उपनिवेशबाट मुक्त रह्यो ।
१. यो हो हाम्रो इतिहास। तर बारवरा, लियो रोज, जुडी र अनेक सिक्किममा पसेकी होप कुक जस्ता जासुसहरुले पश्चिमी प्रभाव निर्माण गर्दै नेपाललाई खम्पा विद्रोहको केन्द्र बनाए । सिल जस्ता संस्थाहरु निर्माण गरे र यसकोविरुद्ध घुँडा नटेकेका राजा महेन्द्रको शायद यिनै शक्तिले षड्यन्त्रमुलक ढंगबाट अन्ते गरे । राजा महेन्द्र र योगि नरहरीनाथले ‘नेपालको मानसिक स्वतन्त्रता समाप्त गर्ने योजना स्वरुप ल्याएको अमेरिकी लगानीको नयाँ शिक्षा योजना नेपालमा लागु हुन दिएनन् ।’
२. तर दुर्भाग्य के भयो भने राजा वीरेन्द्रले पश्चिमी उदारवादी शिक्षाबाट प्रवाहित हुँदै, राजा महेन्द्रको सिहंदरवारलाई शक्तिशाली बनाइ राजदरबारलाई शक्तिकेन्द्र बन्न नदिने योजनाकाविरुद्ध ‘वरिपरि सचिवहरुको घेरासहितको दरबारिया शक्ति निर्माण गर्ने अल्लारे योजनाले सिंहदरवारको प्रभावकारिता र राजनीतिक उदारवादको बाटोमा फर्किने महेन्द्रको योजना तुहियो ।
३. यही समयमा पस्यो २०२८ सालको कथित नयाँ शिक्षा योजना, जसको नेतृत्व गरेका थिए इलोनोइका एक अमेरिकी प्राध्यापकले । योगी नरहरिनाथले रोइकराइ गरे यो शिक्षा लागू नगर्न । तर दरबारका सचिवले उनलाई शत्रु देखे । यही समयदेखि नेपाल पश्चिमी विदेशी सहायताको दुव्र्यसनको बिरामी भयो । यस शिक्षाले नेपालको इतिहास र संस्कृति ध्वस्त पारिदियो । आज नेपाल पश्चिमी मानसिक उपनिवेशको दास बनेको छ । आज देशमा लोकतन्त्रका नाममा आधा नेपाली (जन्मिएको ठाउँ र थर नामले नेपाली दखिने तर विदेशीको पालनपोषणमा हुर्किएका) र आधा पिदेशी (ग्रीन कार्ड बोकेका, विदेशी आइएनजिओबाट पालिएका) अनेक मान्छे देशमा विदेशीको हैकम स्थापित गर्दैछन् । कांग्रेस र सत्तासिन पार्टीभित्र पनि यस्तैको हुकुम चल्छ । जेनजी आन्दोलनमा विद्यार्थी मराएर अहिले यिनीहरुको राजनीतिक बर्चस्व निर्माण भएको छ । देशभक्ति, नेपाली इतिहास, नेपाली संस्कृति, मातृभाषाहरुको नास भएको छ। देशमा कठोर भूराजनीतिक प्रतिस्पर्धा शुरु भएको छ । सन् १८१६ को सुगौली सन्धीदेखि नेपालका अनेकौं सन्धीहरु नस्ट गर्न सिंहदरवार जलाइएको छ। यो सहने, राष्ट्रप्रति एकरति ख्याल नभेको “विस्मरण“ को रोगले ग्रस्त नागरिकको निर्माण गरिंदैछ । राष्ट्र ध्वस्त गर्ने आपराधिक समूह निर्माण गरिएको छ। देशको सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्ने इतिहासको निर्माण गर्ने सपुतहरुको अपमान गरिएको छ।
४. आज देशमा राजनीति एउटा बितन्डाको रुपमा खडा भएको छ। २०७२ सालको पश्चिमी शक्तिले लादेको संविधानबाट फाइदा उठाएर ‘अपवित्र गठबन्धन बनाउंदै नितिगत भ्रष्टाचार, राज्यका श्रोतको लुट र समग्र भ्रस्टाचारको खेती गर्ने’ नेताहरु वि देशीका चेसका गोटिनै थिए। आज यिनका घर जलाएर अर्काथरी सत्तामा जान अनेक जाल बुन्दैछन् ।
५. आज एकथरी पश्चिमी देशका आइएनजिओमा आवद्ध तथा पश्चिमी देशमा घरबास बनाएका, श्रीमान श्रीमती भएका, विदेशी दूतावासका नेपाली संगठनका सदस्य बनेका मान्छे समाविष्ट दलहरू बन्दैछन् । नेपालको संकटपूर्ण बनेको भूराजनीतिको एउटा पक्ष यो हो ।
६. यसको प्रतिवादमा भारतको प्रभाव निर्माण गर्नेहरुको अर्को शक्ति बन्ने प्रक्रिया सुरुभएको छ । जेनजी आन्दोलनका समयमा भारतीय कुटनैतिज्ञका संरक्षणमा बसेका नेतादेखि त्यहाँको दानापानी खानेसम्म भारत लक्षधर राजनीतिक दल निर्माण गर्ने तरखरमा छन् । संकटपूर्ण भूराजनीतिको अर्को पक्ष यो हो ।
७. यो अवस्थामा घर्म, संस्कृति, भाषा, इतिहासको कुरा त परजावस, यस कठिन भूराजनीतिबाट राष्ट्रलाई जोगाएर कमाइ खाने ८०% नागरिकको समृद्धि कसरी निर्माण गर्ने हो भनी सोच्ने देशभक्तहरुको खडेरी छ। नेपाललाई तिब्बती शरणार्थीको केन्द्र बनाउन चाहने तत्वले चीनलाई उत्तेजित पारिरहेका छन् । अतः राष्ट्रको संरक्षण गर्ने देशभक्त शक्ति संगठित हुन सकेको छैन । अहिले विगतका दलमा गाँसिएर भ्रष्टाचारको गन्ध नलागेका देशभक्तहरु, समाजको समावेसी परिवर्तनका पक्षधर प्रगतिशीलहरु, सामाजिक उदारवादीहरुको मोर्चा बन्नुपर्ने अवस्था छ। यस्तो व्यक्तिहरु विभाजित छन् । ससाना टुक्रे पार्टीमा विभाजित छन्, तर संकटपूर्ण भूराजनीतिले राष्ट्रको पक्षमा उनीहरु जुरुक्कै एक भएर उठ्नु पर्ने अवस्था छ ।
अतः (क) सामुहिक नेतृत्वको सिद्धान्तमा आधारित, (ख) आर्थिक समता, राजनीतिक स्वतन्त्रता, भाषिक–धार्मिक– लैंगिक–तथा सभ्यताको समावेशिता र उत्पादनको विकासमा आधारित सार्वजनिक अर्थतन्त्रको संरक्षणमा कृयाशिल अर्थतन्त्र र स्वरोजगार निर्माण गर्ने उत्पादनका केन्द्र बन्ने शिक्षा र (ग) भ्रष्टाचारको अखडा बनेको संघीयताको सम्बोधन र स्थानीय तहको गैरदलिय स्वायत्ततासहितको भूगोल, वर्ग र व्यवसाय र सेवा क्षेत्र, विद्यार्थी, शिक्षक, र निवृत्त कर्मचारी र सुरक्षाकर्मी सबैको संलग्नता रहेको संसद, (घ) सबै सभ्यता र संस्कृति र धर्मको प्रतिनिधित्व रहेको राष्ट्रिय सभा, र (ङ) विदेशीको प्रभावहीन जनउतरदायी प्रधानमन्त्री सहितको सामूहिक नेतृत्व रहेको कार्यकारी मन्त्रिपरिषद्को निर्वाचन गर्ने गरि संविधानको संशोधन गर्ने लक्ष्यसहितको समतावादी समाज निर्माण गर्ने शक्तिको उदय आवश्यक छ। यो शक्तिको नेतृत्व विज्ञहरु गर्दै राजनीतिमा पुस्तान्तरणको रणनीतिक लक्ष पूरा गर्नुपर्छ । राष्ट्रलाई विदेशीहरुको रणभूमि बनाउनेहरुको उद्देश्य पुराहुन नदिउँ ।
